लुम्बिनी आयुर्वेद चिकित्सालय सञ्चालनमा

सदरलाइन संवाददाता २ श्रावण २०८०, मंगलवार १३:५५
 

बुटवल : लुम्बिनी प्रदेश सरकारको मातहत रहेको प्रदेशकै पहिलो लुम्बिनी आयुर्वेद चिकित्सालयले १५ शैयाको अस्पताल सञ्चालन गरेको छ ।

असार १ गतेबाट सञ्चालनमा आएको लुम्बिनी आयुर्वेद चिकित्सालय अस्पतालमा बिरामीको भीड बढ्न थालेको छ । पछिल्लो समय एलोपेथिक मात्रै होइन आयुर्वेदिक चिकित्सा र औषधिप्रति बिरामीको विश्वास बढ्दै गएपछि चिकित्सालयमा बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

लुम्बिनी आयुर्वेद चिकित्सालयले अहिलेसम्म बहिरङ्ग सेवा मात्रै प्रदान गर्दै आएकोमा गत असार १ बाट बिरामीलाई भर्ना गरेर सेवा दिन थालेको हो । रुपन्देहीको मझगावाबाट आएका रामऔतार लोध बाथ रोगका बिरामी हुन् । उनी एलोपेथिक औषधिले बाथरोग निको नभएपछि आयुर्वेद औषधिका लागि चिकित्सालयमा आएको बताए ।

उनले आयुर्वेदिक औषधि खान थालेको १० दिन भयो । १० दिनमै बाथरोग धेरै निको भएको उनको अनुभव छ । उनी जस्तै बिरामी आयुर्वेद चिकित्सालयमा दैनिक एक सयभन्दा बढी आउने गर्छन् । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गएको हो ।

बुटवल ११ को देवीनगरमा रहेको यो अस्पताल प्रदेशकै पहिलो आयुर्वेद अस्पताल हो । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी आयुर्वेद अस्पतालको भौतिक सुधारका लागि सहयोग गरेपछि अहिले चिकित्सालयको सेवामा सुधार भएको छ ।

लुम्बिनी आयुर्वेद चिकित्सालयका कविराज नरहरि अर्यालका अनुसार आयुर्वेद अस्पतालमा आउने बिरामी प्रायः ज्वरो, रुघाखोकी, बाथरोग, हाडजोर्नीसम्बन्धी नशा च्यापिएका, छालामा समस्या भएका, युरिक एसिड, निसन्तान, ग्याष्ट्रिकबाट पीडित छन् ।

पछिल्लो समय चिकित्सालयमै बिरामी भर्ना गरेर उपचार गर्न शुरु गरिएपछि बिरामीको चाप बढ्दै गएको कविराज अर्यालले बताए । अर्यालका अनुसार चिकित्सालयको दरबन्दी कम हुँदा बिरामीलाई सेवा दिन हम्मेहम्मे परेको छ ।


चिकित्सालयमा कार्यरत स्वास्थ्कर्मी लक्ष्मी आचार्यले बमन गराएर उपचार गराउनेदेखि विरेचनका साथै थेरापी गराई गर्ने उपचार जस्ता थुप्रै उपचार विधि हुने हुँदा पनि बिरामीको चाप बढ्दै गएको बताए ।

चिकित्सायलका प्रमुख डा. प्रवेश श्रीवास्तवले एलोपेथिक उपचारमा मानिसहरूको जति विश्वास थियो, अहिले आयुर्वेदिक उपचारमा पनि उत्तिकै विश्वास बढ्दै गएको पाइएको बताए ।

ज्वरो, रुघाखोकी, हाडजोर्नी दुख्ने, नशा वा छालासम्बन्धी समस्या, ग्याष्ट्रिक जस्ता बिरामी अस्पताल आउने गरेको उनको भनाइ छ । चिकित्सालयमा नेपालबाट मात्रै होइन भारतबाट समेत बिरामीहरु उपचारका लागि आउन थालेको चिकित्सालयले जनाएको छ ।

प्रमुख डा. श्रीवास्तवका अनुसार आर्थिक वर्ष २०७९–०८० मा १८ हजार ७ सय ९५ पुरुष र १३ हजार ३ सय ९५ महिला गरि करिव ४१ हजार बिरामीले उपचार सेवा लिएका छन् ।

पछिल्लोपटक चिकित्सालयमा ओपीडी सेवा र पञ्चकर्म सेवा विस्तार गरिएको छ भने नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित एक सातामा बुटवलका विभिन्न ५ स्थानमा सामुदायिक केन्द्रमा गएर सेवा दिने व्यवस्था गरिएको छ ।

चिकित्सालयमा पछिल्लो समय नाक कान रोगको सेवासमेत विस्तार गरिएको छ भने ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा वडामै नुन पठाउने तयारी

२ श्रावण २०८०, मंगलवार १३:५५
जुम्ला : जुम्लामा नुन सहजै नपाएको भन्दै डिपोमा तोडफोड भएपछि वडामा नुन पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हो । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको विषयमा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लालाई बुझिएको र प्रभावकारी व्यवस्थापनका लागि वडामै […]