कोहलपुरले भ्यु टावर सञ्चालन गर्न दाता खोज्दै

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १७:४५
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाले गौरवका दुई आयोजना सञ्चालनका लागि साझेदारी संस्थाको खोजी सुरु गरेको छ । सम्भावित दाताहरुलाई कोहलपुरमा भेला गरेर नगरपालिकाले साझेदारीको आव्हान गरेको हो ।

निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका दुई ठूला गौरवका आयोजना नयाँ बसपार्कको टर्मिनल भवन र भ्युटावर संचालनका लागि साझेदारी संस्थाको खोजी नगरपालिकाले गरेको छ । लामो दुरीको बसपार्क आंशिक रुपमा मात्रै सञ्चालनमा आएको छ । उक्त बसपार्क कुल २९ करोड ५३ लाख ८ सय ९२ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

यस्तै ५ करोड ६३ लाखमा निर्माण गरिएको कोहलपुर भ्यु टावर अझै सञ्चालनमा आउन सकेको छैन । आन्तरिक आयका वृद्धि गर्ने उद्देश्यसहित करोडौ लगानीमा निर्माण गरिएका आयोजना सञ्चालनमा आउन नसक्दा नगरपालिकाको लगानी खेर जाने चिन्ता बढेको छ । आयोजना सञ्चालनका लागि पटकपटक बोलपत्र आह्वान गर्दापनि आवेदन नै नपरेपछि बसापार्कस्थित टर्मिनल भवन र कोहलपुर भ्यु टावर सञ्चालनमा अझै अन्यौल थपिएको हो ।

पश्चिम क्षेत्रको अत्याधुनिक सेवासुविधासहित निर्माण गरिएको बसपार्कको मुख्य टर्मिनल भवन अझै सञ्चालनमा आउन सकेको छैन । टर्मिनल भवन बहालमा दिन गरिएका पटकपटक गरिएका प्रयासहरु असफल हुँदा नगरपालिका सहयोगी हातको खोजीमा छ । ६ पटकसम्म टेण्डर आह्वान गर्दासमेत एउटापनि आवेदन नपर्दा टर्मिनल भवन कहिलेबाट सञ्चालन हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

नगरपालिकाले उक्त भवन वार्षिक न्युनतम् १ करोड ७४ लाख ६५ हजार ४० रुपैयाँ निर्धारण गरेर पहिलोपटक २०७९ चैत १६ गते पहिलोपटक टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले दोस्रोपटक २०८० बैशाख २० र तेस्रोपटक जेठ ११ गते टेण्डर आह्वान गरेको थियो । यस्तै चौथोपटक न्युनतम् मूल्य ८७ लाख ३३ हजार कायम गरी जेठ २९ गते सूचना प्रकाशन गर्दासमेत कुनैपनि आवेदन परेन ।


यस्तै पाँचोपटक असार २९ गते र छैठोपटक साउन २६ गते नगरपालिकाले सूचना प्रकाशन गरेको थियो । ६ पटकसम्म सूचना प्रकाशित गर्दा कुनैपनि आवेदन नपरेका कारण कोहलपुरको नयाँ बसपार्क व्यवस्थापन, टर्मिनल भवन भाडामा लगाउने विषयमा सरोकारवालाहरुको सुझाव माग गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत धोलकराज ढकालले बताएका छन् ।

शुक्रबार नगरपालिकाद्धारा आयोजित सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आयोजना सञ्चालनका लागि स्थानीय सरकार र निजी क्षेत्रको साझेदारीमा गर्न सकिने नयाँ क्षेत्रहरु पहिचान सार्वजनिक निजी सामmेदारी एंव समन्वयलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुको रचनात्मक सुझाव माग गरिएको बताए ।

उनका अनुसार अहिले सञ्चालनमा रहेका सटरसमेत खाली हुने अवस्थामा पुगेका छन् । नगरपालिकाले ५९ वटा सटर भाडामा दिएको थियो । अहिले ५६ वटा मात्रै सटर सञ्चालनमा छन् । तर, ती सटरमा व्यवसाय गरिरहेका व्यवसायीहरु सम्झौता रद्द गर्नको लागि दैनिक निवेदन दिएर नगरपालिकामा आउने गरेको उनको भनाइ छ । बसपार्क मात्रै होइन कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको कोहलपुर भ्यु टावरको अवस्थापनि उस्तै छ ।

विभिन्न समयगरी तीन पटक सूचना प्रकाशित गर्दासमेत कुनैपनि व्यवसायीले सञ्चालनका लागि आवेदन दिएनन् । उक्त टावर सञ्चालनका लागि नगरपालिकाले वार्षिक न्युनतम् मूल्य २४ लाख कायम गरेको छ । भ्यु टावर लिफ्टसहितको छ । प्रमुख प्रकाशकीय अधिकृत ढकालले भ्यु टावर सञ्चालनका लागि बहालमा लगाउन आवश्यक साझेदार संस्थाको खोजी, बहालमा लगाउने उपयुक्त विधि, नगरपालिकाको आन्तरिक आय प्राप्तिमा सहजीकरण तथा निजी क्षेत्रको प्रोत्साहन गरी साझेदारीको लागि समन्वयको अपेक्षा गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट ८० करोडको आलु आयात

२१ पुष २०८०, शनिबार १७:४५
नेपालगञ्ज : नेपालमै प्रशस्त उत्पादनको सम्भावना रहेको आलुको आयातमा पनि बर्षेनि करोडौँ रुपैयाँ भारत जाने गरेको पाइएको छ । नेपालगञ्ज नाकाबाट भारतबाट हुँदै आएको आलुको आयात करिब दोब्बर वृद्धि भएको छ । नेपालगञ्ज नाकाबाट मात्रै आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्मको पाँच महिनामा ८० करोड रुपैयाँको आलु आयात भएको […]