कैदी भगाउन तीनजनाको मिलेमतो रहेको प्रहरीको अनुमान

सदरलाइन संवाददाता ९ पुष २०७८, शुक्रबार १७:४१
 

नेपालगञ्ज : दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले दिएको जानकारी अनुसार तीन जनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

एसपी काफ्लेले प्रहरी भित्र र बाहिरका व्यक्तिहरुसँग मिलेर कैदी भगाईएको र कल डिटेलको आधारमा अन्य व्यक्तिहरु पक्राउ पर्नेक्रम जारी रहेकाले अनुसन्धान पूरा भएपछि आफै प्रहरीले सार्वजनिक गर्ने बताए ।

एकजना प्रहरी जवान र दुईजना बाहिरका मान्छेको मिलेमतो रहेको देखिएपछि सोहीअनुसार प्रहरीको अनुसन्धान अघि बढाइएको उनले बताए ।

कैदी भगाउन सहयोग गर्ने प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य दुईमध्ये एकजनालाई शुक्रबार बिहान पक्राउ गरिएको र अर्का एकजनाको खोजी भइरहेको प्रहरी प्रमुख काफ्लेले बताए ।

‘तीनजनाको मिलेमतोमा भगाइएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ, तीमध्ये प्रहरी जवानलाई हिजै पक्राउ गरिसक्यौँ, अर्का एकजनालाई आज बिहान पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ काफ्लेले भने, ‘थप अर्का एकजनाको पनि खोजी कार्य भइरहेको छ, सबै अनुसन्धान पूरा गरेर सार्बजनिक गर्छौ ।’


फोन ट्रयाकिङको आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता भएको देखिएको प्रहरीले बताएको छ ।

कैदीका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी २७ वर्षीय जयराम परियार बिहीबार बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई घोराही कारागारमा जेलजीवन बिताइरहेका उनी छालाको बिरामी थिए ।

त्यसकै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा ती व्यक्तिको हतकडी खोलिएको थियो । त्यही मौकामा उनी प्रहरीकै लु.३४प ४१० नम्बरको मोटरसाइकल चढेर फरार भएका छन् । उनलाई प्रहरी जवान चौधरीले नै सोही मोटरसाइकलमा राखेर अस्पताल लगेका थिए ।

घटना बिहानको समयमा भएको थियो, तर प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ । ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘रक्त क्यान्सरको सुलभ र गुणस्तरिय उपचार नेपालमै संभव छ’

९ पुष २०७८, शुक्रबार १७:४१
नेपालगञ्ज : समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरिय र सुलभ उपचार नेपाल भित्रै संभव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् । कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका विरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा अजय कुमार झाले सो […]