आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:२०
 

नेपालगञ्ज : बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गरेका थिए ।

सोही प्रस्तुतीको आधारमा बैठकका सहभागिहरुविच छलफल र अन्तरक्रिया गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

सो अवसरमा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी रिजालले एक्कासी जिल्लामा बाढी आएर आपतकालीन अवस्था सृजना भएको बेला बाढी प्रभावित अति विपन्न तथा गरीब परिवारलाई प्लान र युनेस्कोले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।


परियोजनाअन्तर्गत पीडित परिवारहरुलाई, डिगनिटी तथा हाईजिन किट, खाद्य तथा पोषण सामग्री, धारा तथा शौचालय मरम्मत र निर्माण र डुबान क्षेत्रमा सडक र नाली निर्माणको काममा समुदायलाई परिचालन गरी कामकालागि नगद प्रदान गरिएको परियोजनाका संयोजक मनोज पौडेलले बताए ।

सो समापन बैठकमा प्लान नेपालका आपतकालीन प्रतिकार्य प्रबन्धक नीलम पराजुली खनाल, स्पान्सरसिप संयोजक जनक गिरि, अनुगमन मुल्यांकन शोध सिकाई अधिकृत हसरत अली कसगढ, परियोजना अधिकृत विमल गैरे, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दीकी, परियोजना अधिकृत गोविन्द लमिछाने र फील्ड सुपरवाइजर राधेश्याम समेतको उपस्थिति रहेको थियो ।

सोही अनुसार सम्बन्धित चारै वटा पालिकाहरुमा पनि परियोजना समापन बैठक सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ । ती परियोजना समापन बैठकहरुमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरी, बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्ना कुमारी पाण्डे र ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको उपस्थिति रहेको थियो ।

सो परियोजना अन्तर्गत चारवटै पालिकामा ८० परिवारलाई डिगनिटि किट, ८० परिवारलाई हाइजिन किट, २०० परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषणयुक्त खाद्यान्न वितरण, २४० वटा खानेपानी धारा र शौचालय मर्मत सम्भार तथा निर्माण गरिनुका साथै आठ स्थानमा कामका लागि नगद कार्यक्रम गरेर सो बापत नगद सहयोग पनि प्रदान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो

९ आश्विन २०८०, मंगलवार १६:२०
नेपालगञ्ज : लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरिन् । इप्रका भगवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकृतसँग नमुनाले पछिल्लो सुरक्षा […]