बाँकेमा पहिलो पटक सिएको पढाइ शुरु, अब बाहिर नजानुपर्ने

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १७:४८
 

नेपालगञ्ज : केही समय पहिलेसम्म सिए पढ्न विदेश वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमै यसको पढाइ सुरु भएपछि सिए पढ्न भारत वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

नेपालगञ्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थीलाई विदेश वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त भएको आइबिएमका संस्थापक सदस्य सागर अधिकारीले बताए ।

अनुभवी चार्टर्ड एकाउन्टेन्टले आइबिएम सञ्चालनमा ल्याएपछि सिए पढ्न राजधानी काठमाडौँ र भारत जानुपर्ने बाध्यता हटेको उनले बताए । सिए अधिकारीका अनुसार, लेखा, कर, लेखापरीक्षण, व्यावसायिक परामर्शजस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आइबिएम सञ्चालनमा ल्याएको हो ।

आइबिएमका अर्का सञ्चालक सदस्य सिए सन्तोष कँडेलले आइबिएममै सिए पढाइ र नेपालगञ्जमै परीक्षा हुने भएकाले अब सिए अध्ययन गर्न काठमाडौँ र विदेश जानु नपर्ने बताउँदै निकट भविष्यमै आइबिएमले लेखा व्यवस्थापन तालिम, करसम्बन्धी तालिम र अर्थसम्बन्धी विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने बताए ।


सञ्चालक सदस्य कँडेलका अनुसार विसं २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्सेनि सिएमा औसत ८०० जना विद्यार्थी भर्ना हुन्छन् । चार्टर्ड एकान्टेन्सी (सिए) पेसागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि मुख्यतया विद्यार्थीले लेखापरीक्षणको काम गर्न पाउँछन् ।

यसबाहेक सिए अध्ययनपश्चात् विद्यार्थी लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत विभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि काम गर्न सक्ने आइबिएमले जनाएको छ ।

एनजिओ, आइएनजिओ, बैङ्क, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँगसम्बन्धित कार्यालयमा सिएले काम गर्न सक्ने भएकाले यसको माग धेरै रहेको जनाइएको छ । घरमै बसेर अध्ययन गर्ने हो भने डेढ लाख रुपियाँमा अध्ययन पूरा गर्न सकिने आइबिएमले जनाएको छ ।

‘इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ३.५ लाख रुपैयाँमै कोर्ष पूरा गर्न सकिन्छ’ सञ्चालक सदस्य सिए अघिकारीले भने, ‘यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रक्तदानका लागि रेडक्रस सोसाइटी बाँकेले उत्प्रेरणा अभियान गर्ने

१२ पुष २०८०, बिहीबार १७:४८
नेपालगञ्ज : ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ रगत सङ्कलन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गत रहेको रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान शुरु गर्ने भएको छ । रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रगतको अभाव हुन नदिन तथा अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान शुरु गर्न लागेको […]