रक्तदानका लागि रेडक्रस सोसाइटी बाँकेले उत्प्रेरणा अभियान गर्ने

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १८:२१
 

नेपालगञ्ज : ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ रगत सङ्कलन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गत रहेको रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रक्तदानसम्बन्धी उत्प्रेरणा अभियान शुरु गर्ने भएको छ ।

रक्तसञ्चार सेवा व्यवस्थापन समितिले बाँकेमा रगतको अभाव हुन नदिन तथा अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान शुरु गर्न लागेको जनाएको छ ।

व्यवस्थापन समितिको बिहीबार नेपालगञ्जमा बसेको बैठकले बिरामीलाई चाहिने रगत अभाव हुन नदिन गाउँ गाउँमा उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिने तथा धार्मिक सामाजिक सद्भाव समितिसँग छलफल गरी समुदायस्तरबाट रक्तदान गर्नका लागि पहल गर्न आग्रह गरिने निर्णय गरेको समितिका सदस्य एवम् मानवअधिकारकर्मी आलम खानले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाको प्रमुख आतिथ्यतामा व्यवस्थापन समितिको आ.व. ०८१÷०८२ को प्रस्तावित वार्षिक कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उनले बताए ।


सभापति सम्झनाले २५ पटक रक्तदान गर्ने रक्तदातालाई आजीवन सदस्यता दिने र सबैभन्दा बढी रक्तदान गर्ने महिला र पुरुषलाई सम्मान गरिने परिपाटी बसाउनुका साथै दुर्लभ रक्तदातालाई समेत सम्मान गर्ने गरी रेडक्रसले योजना बनाएको बताए ।

अभियान अन्तर्गत बाँके जिल्लाका विभिन्न विद्यालय, क्याम्पसमा गएर युवालाई रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने र सम्बन्धित निकायसँग सहकार्य गरी रक्तदान कार्यक्रम समेत गरिने समितिका अर्का सदस्य सुनिलसिंह हमालले बताए ।

समितिका सभापति राजकुमार वर्माले रक्तदान गर्नेतर्फ केन्द्रित हुन स्थानीय सरकारलाई जबाफदेही बनाउन जरुरी रहेको उल्लेख गर्दै स्थानीय सरकारले आफ्नो वार्षिक कार्यक्रममा ३–३ महिनामा रक्तदान गर्ने योजना बनाउनुपर्ने बताए ।

रक्तदान उत्प्रेरणाका लागि विभिन्न सङ्घ संस्था, स्थानीय निकाय एवं सामाजिक अभियान्ताहरुसँग समन्वय गरी सहकार्य गरिने समितिले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेले आ.व. ०७९/८० मा १७९१५ युनिट रगत वितरण गर्नुका साथै आ.व. ०८०/८१ मा १५५०० युनिट रगत सङ्कलन गरी १९५०० जनालाई रगत वितरण गर्ने लक्ष्य राखिए अनुसार काम गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सवारी दुर्घटना न्यूनिकरणको लागि संयुक्त लापसे जाँच

१२ पुष २०८०, बिहीबार १८:२१
नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकले लागू औषध र माधक पदार्थ सेवन गरे नगरेको जाँच गर्दा अप्रत्याशीत रुपमा लागू औषध सेवन गरेर सवारी चलाउने चालक अधिक रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुर र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय नेपालगञ्जको संयुक्त आयोजनामा […]