भेरी अस्पतालमा भूकम्पका घाइतेको सङ्ख्या शून्य

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १५:५६
 

नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ ।

उपचारपश्चात् कोही बिरामी निको भएर डिस्चार्ज भई घर गए भने कोहीलाई थप उपचारका लागि काठमाडौं पठाइएपछि यहाँ उपचार गराउने भूकम्पका घाइते बिरामीको सङ्ख्या शून्य भएको हो ।

बुधबार भेरी अस्पतालमा उपचाररत दुई बिरामीमध्ये एक जनालाई डिस्चार्ज गरिएको र एक जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।


बुधबार भेरी नगरपालिका–१ जाजरकोटका १५ वर्षीया अनामिका शाहीलाई डिस्चार्ज गरिएको र सानिभेरी–२ रुकुमपिश्चमका ५ वर्षीय बालक सुशान्त पुनमगरलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उक्त भूकम्पमा परी घाइते भएका विभिन्न जिल्लाका ६० जना बिरामीलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये हालसम्म ५४ जना बिरामी निको भएर डिस्चार्ज भएका हुन् । अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये एक जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको र पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरुलाई उपचारका लागि भेरी अस्पतालमा १८ गते बिहानदेखि ल्याउन शुरु गरिएको थियो । तत्पश्चात विभिन्न समयमा ६० जना घाइतेलाई उपचारका लागि भेरीमा ल्याइएको थियो । अस्पतालले छुट्टै ‘डिजास्टर वार्ड’को व्यवस्थापन गरेर भूकम्पका घाइतेलाई मात्र उपचार शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको राँझामा बि–ग्रुपले वडासंगको सहकार्य अर्गानिक तरकारी बिक्रि केन्द्र निर्माण गर्दै

२८ मंसिर २०८०, बिहीबार १५:५६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानं. २० राँझामा बाँकेका किसानद्वारा उत्पादित प्रांगारिक (अर्गानिक) तरकारी संकलन तथा बिक्रि केन्द्रको शिलन्यास गरिएको छ । एमडिएम फ्रान्स तथा भेरी वातावरणिय विशिष्ठता समूह बि–ग्रूपको साझेदारीमा सञ्चालनमा रहेको पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा निर्माण हुने सो केन्द्रको लुम्बिनी प्रदेश सरकारका कृषि सहकारी तथा भुमि […]