नागरिकलाई शीतलहरबाट जोगाउन पूर्व तयारी शुरु

सदरलाइन संवाददाता २८ मंसिर २०८०, बिहीबार १४:२१
 

नेपालगञ्ज : दिनदिनै चिसो बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सो निर्णय गर्दै शीतलहरबाट सर्वसाधारणलाई जोगाउन पूर्व तयारी शुरु गरेको हो ।

त्यसका लागि स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउँदा सहुलियत दररेटमा समेत उपलब्ध गराउने निर्णय गरेको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

बैठकमा चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना, २०८० को मस्यौदा उपर छलफल भई प्राप्त सुझाव समेत समावेश गरी परिमार्जित शीतलहर आकस्मिक योजना, बाँके–२०८० स्वीकृत गरिएको छ ।


अधिकृत ज्ञवालीका अनुसार स्वीकृत उक्त योजनामा उल्लिखित जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तयारी तथा पूर्व प्रबन्ध मिलाई कार्यान्वयन गर्ने, साथै सबै नगरपालिका गाउँपालिका विपद् व्यवस्थापन समिति तथा सबै विषयगत क्षेत्रले आ–आफ्नो शीतलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सबै सङ्घसस्था, निजिक्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

समितिका अनुसार, स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी सूची तयार पार्ने र राहत वितरणमा प्राथमिकतामा राख्ने निर्णय भएको छ ।

चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्ने निर्णयलाई स्थानीयले सकारात्मक रुपमा लिएर सो निर्णयको स्वागत गरेका छन् । सामाजिक अगुवा कृष्णप्रसाद श्रेष्ठले शीतलहर र चिसोबाट जोगिन यसरी पहिले नै पूर्वतयारी भएकोमा खुशी व्यक्त गर्दै निर्णय कार्यान्वयनमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेपत्ताको सम्झनामा बर्दियामा स्तम्भ निर्माण

२८ मंसिर २०८०, बिहीबार १४:२१
बर्दिया : बारबर्दिया नगरपालिका–१०स्थित कुम्भर अड्डाको ३५ हेक्टर क्षेत्रफलमा सशस्त्र द्वन्द्वका समयम बेपत्ता पारिएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको छ । द्वन्द्वकालमा तात्कालीन सुरक्षाफौज र माओवादीबाट बेपत्ता पारिएका २ सय ५८ जनाको सम्झनामा स्तम्भसँगै स्मृति पार्क निर्माण गरिएको हो । बर्दियाका आठैवटा पालिकाको नाममा पार्क निर्माण गरिएको छ । २०५२ साल […]