नरैनापुरमा धार्मिक मेला जारी

६ फाल्गुन २०७५, सोमबार १३:३३
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा जारी धार्मिक मेलामा कव्वाली सुन्न हजारौं मानिस उर्लिएका छन् । कव्वाली सुन्न भारतको श्रावस्ती, बहराइच, गोण्डा, बलरामपुर, गुजरातदेखि मानिसहरु नरैनापुर पुगेका थिए ।
आइतवार राति ठेलम ठेल भीडका बीच भएको कव्वालीमा भारतको कानपुर र इलाहाबादबाट आएका शरिफ परवाज र नेहा नाजले कव्वाली प्रस्तुत गरेका थिए । प्रतिकूल मौसमका बावजुद पनि हजारौं मानिसहरु कवाली सुन्न उपस्थित भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । मुस्लिम धर्मगुरुको सम्झनामा डेढ सय बर्षदेखि लाग्दै आएको मेला यस बर्ष पनि नरैनापुर गाँउपालिका वडा नम्बर २ को मियाँपुर्वामा शनिवारदेखि चलिरहेको छ ।



१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । १२ गतेसम्म चल्ने मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको अध्यक्ष शाहले जानकारी दिए । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने मेलाको बिशेषता रहेको शाहले बताए ।
मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुको मनोरञ्जनका लागि भारतबाट आएका प्रशिद्ध नौटन्की नाचका साथै नेपाल र भारतका ब्यापारिक कम्पनीहरुको स्टलसमेत रहेका छन् ।

Next Post

कश्मिरमा फेरि गोली हानाहान, ४ सैनिक शहिद

६ फाल्गुन २०७५, सोमबार १३:३३
सदरलाइनडटकम, काठमाण्डौ : भारतको स्वशासित क्षेत्र जम्मुकश्मिरमा फेरि गोली हानाहान भएको छ । गोली हानाहानमा चारजना भारतीय सेना मारिएका छन् भने एक जना घाइते भएका छन् । पुलवामा जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाको आधारमा सैनिक त्यसतर्फ गएको थियो । सोही समयमा गोली हानाहान भएको हो । केही दिनअघि जम्मु […]