नेपालगञ्जमा बनेको बहुचर्चित डिजिटल शौचालय भत्काइयो

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १४:०३
 

नेपालगञ्ज : नेदरल्याण्ड्स विकास कोषको रु ४६ लाख ३६ हजारमा चारवर्ष अघि नेपालगञ्जको विरेन्द्रचोकमा बनेको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ ।

डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

‘यो प्रबिधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भयो । डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शौचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेको छ ।’– प्रवक्ता रिजालले भने ।

उक्त शौचालयमा डिजिटल प्रविधि जडान गरिए पनि लामो समय संचालन नहुँदा सामानमा खिया लागेको थियो । यसरी जिर्ण अवस्थाको शौचालय खण्डहर जस्तो लामो समय रहेपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए ।

२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो ।


भत्काइएको डिजिटल शौचालय आफ्नो फरक बिशेषताका कारण चर्चामा थियो । जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्यो । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्ने गरि बनाइएको थियो ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने बनाइएको थियो। शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो । शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्ने र जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न भनिएको थियो । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित थियो । शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्ने बिशेषताको थियो।

नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाइने भन्दै चर्चा रहे पनि अब भने चर्चामै सिमित भएको छ ।

एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको थियो । तत्कालीन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा हुनुपर्नेमा उतिबेला नै जोड दिएका थिए । जुन सदुपयोग नभई यतिबेला भत्काइएको छ ।

मंगलबार कामदारहरुले शौचालयका सामान निकाल्दै थिए । अधिकांस सामान निकालेर थन्क्याइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका मिठाई पसलमा अनुगमन

२७ मंसिर २०८०, बुधबार १४:०३
नेपालगञ्ज : बाँके प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । प्रशासनको नेतृत्वमा नेपालगञ्जका विभिन्न मिठाई पसलमा अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले नेपालगञ्जका विभिन्न मिठाई पसलहरुको अनुगमन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी […]

सम्बन्धित