आज महाअष्टमी पर्व मनाईंदै

१९ आश्विन २०७६, आईतवार १४:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैंकारुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिन्छ ।
दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताए । सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो ।
सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ । ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चन्डीको आठौं अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा. गौतमले बताए । यी तीनओटा शक्ति दुर्गाभवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।
आजैका दिन राति कालरात्रिकारुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुन्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
यसैगरी, उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चन्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा–आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी–साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ ।
यी साधनलाई देवीको शस्त्र अस्त्रकारुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

Next Post

एकलाख १६ हजारबढी रुपैयासहित ईप्रका कोहलपुरले समात्यो १८ जना जुवाडे

१९ आश्विन २०७६, आईतवार १४:०८
सदरलाइनडटकम, नेपालगञ्ज  :  ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई भिन्न स्थानको जुवाको खालबाट १ लाख १६ हजारबढी रुपैया, ५ गड्डी ताससहित १८ जना जुवाडे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार बाँके बैजनाथ–४ तीलकराम थारुको घरमा जुवा खेल्दै […]

सम्बन्धित