नेपालगञ्जमा मातृ मृत्युदर उच्च हुँदा पनि बेवास्ता

सदरलाइन संवाददाता २२ मंसिर २०८०, शुक्रबार १४:२६
 

नेपालगञ्ज : नेपालगञ्ज पश्चिम नेपालको स्वास्थ्यको केन्द्र विन्दु मानिन्छ । यहाँ आधा दर्जनबढी ठूला अस्पताल छन् । विशेषज्ञ चिकित्सक बस्ने मेडिकल छ्याप्छ्याप्ती छन् ।

पश्चिम नेपालका २४ जिल्लाका मानिसको उपचारको थलो नै हो नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुरको मेडिकल कलेज पश्चिम नेपालका विरामीको रिफरल सेन्टरको रुपमा रहेका छन् ।

सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पहुँच भएको नेपालगञ्जमा मातृ मृत्युदर जिल्लाकै अन्य पालिकाभन्दा धेरै रहेको छ । गर्भवती/सुत्केरी मृत्युमा दूरदराजका पालिकाभन्दा नेपालगञ्ज किन अगाडि रहेको छ? यसको जवाफ कसैले खोजेका छैनन् ।

नेपालगञ्ज उपमहानगरपालिकाभित्र चालु आर्थिक वर्षमा तीन जना आमाको मृत्यु भइसकेको छ । गतवर्ष यहाँ पाँच जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या पनि कम छैन । गतवर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात जना गर्भवती/सुत्केरीको नेपालगञ्जमा मृत्यु भएको थियो ।


नेपालगञ्जपछि नरैनापुरमा धेरै आमाको मृत्यु भएको छ । गतवर्ष नरैनापुरमा चार जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक/एक जना गर्भवती/सुत्केरीको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन विष्णु श्रेष्ठले आर्थिक वर्ष २०७९/८० मा बाँकेमा १८ जना गर्भवती/सुत्केरीको मृत्यु भएको जानकारी दिइन् । यो वर्ष बाहिरी जिल्लाबाट आएका ११ जना आमाको बाँकेमा मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आर्थिक वर्ष २०७७/७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।

बाँकेको नेपालगञ्ज र कोहलपुरमा ठूल्ठूला अस्पताल छन् । अन्य पालिकामा पनि सुविधा सम्पन्न स्वास्थ्य संस्था छन् । बजार होस् या गाउँ बाटोको पहुँच छ । सवारी साधन जतिबेला भने पनि पाइन्छ । त्यसका बाबजुद गर्भवती/सुत्केरीको मृत्युदर कम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’ जारी

२२ मंसिर २०८०, शुक्रबार १४:२६
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा–आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ । पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो […]