नेपालगञ्ज उपमहानगरद्वारा पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका माथी प्ररम्भिक छलफल

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १९:१३
 

नेपालगञ्ज  : नेपालगञ्ज उप महानगरपालिकाले उपमहानगरको स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिका लागि पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी प्रारम्भिक मस्यौदा माथि सरोकारवालाबीच छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले एमडिएम फ्रान्स, जिआईजेड, एएफडिको आर्थिक सहयोग तथा बि–ग्रूपको समन्वयमा स्वास्थ्यकर्मी र सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी प्रारम्भिक मस्यौदा माथि सरोकारवालाबीच छलफल गरिएको हो ।

कार्याक्रममा एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापाले देशभरका ७ सय ५३ पालिका मध्ये स्वास्थ्यकर्मी र सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी कार्यान्वयनको चरणमा लैजाने पहिलो पालिका भएको जानकारी दिए ।


स्वास्थ्यकर्मी र सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गर्न विज्ञ समुहमा रहेका काठामाण्डौ विश्वविद्यालयका प्राध्यापक डा सुनील कुमार जोशीले नेपालगञ्ज उपमाहनगरमा स्वास्थ्यकर्मी, तथा सरसफाईकर्मीलाई पेशाका कारण आईपर्ने जोखिमलाई ध्यानमा राखेर करिव ५ हजार व्यक्तिलाई लक्षित गरी निर्देशिका तयार परिएको बताए ।

उनले निर्देशिका तयार गर्नु अघि बाल्मिकी समुदायका २ हजार जना, कवाड संकलन गर्नेहरु ५ सय, नेपालगञ्ज उपमहानगरसंग आवद्ध ३ सय र विभिन्न अस्पतालहरुमा कार्यरत २ हजार २ सय गरी ५ हजारको पेशागत स्वास्थ्य सुरक्षाको लागि उनीहरुसंग भेट गरिएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नगरलाई सफा र स्वच्छ राख्नका लागि योगदान दिने स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीको पेशागत सुरक्षालाई ध्यानमा राखेर पूर्ण स्वामित्वका साथ निर्देशिका तयार पारि कार्यन्वयनको चरणमा लैजाने प्रतिबद्धता जनाए ।

नेपालगञ्ज उपमहानगरपालिकामा एमडिएम फ्रान्स, जिआईजेड, ए एफडिको आर्थिक सहयोग तथा बि–ग्रूपको समन्वयमा संचालनमा रहेको पेशागत सुरक्षा तथा वाताबरणिय स्वास्थ्य सहयोग परियोजना अन्तरगत आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दिन राई स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डा. संकेत रिसाललगायतले पेशागत स्वास्थ्य सुरक्षा निर्देशिकाको प्रारम्भिक मस्यौदा माथि टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथद्वारा छात्रवृत्तिमा पचास प्रतिशत अनुदान

१५ मंसिर २०८०, शुक्रबार १९:१३
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले बिद्यालय थाने छात्रालाई छात्रवृत्तिमा ५० प्रतिशत अनुदान दिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत कक्षा ११ र १२ मा पढ्ने छात्राका लागि यस्तो ब्यवस्था गरेको हो । यसका लागि गाउँपालिकाले चालु आर्थिक २०८०/०८१ को बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका […]