करणी गर्न नदिँदा दार्चुलामा भाउजूको हत्या

सदरलाइन संवाददाता २८ जेष्ठ २०७९, शनिबार १५:१४
 

नेपालगञ्ज : दार्चुलाको शैल्यशिखर नगरपालिका–१ की गौमतीका बुवा ७ वर्षअघि संसार छाडेर गए । त्यसपछि उनकी ४५ वर्षीय आमा अनिभा खडायतले एक्लै २ छोरी र १ छोराको पालनपोषण गर्नु परिरहेको थियो ।

बुधबार सुतिरहेको अवस्थामा एक्कासी उनको निन्द्रा खुल्यो । बाहिरबाट कोही उनकी आमालाई बोलाइरहेको थियो । आमा अनिभा बाहिर गइन् । धेरै समयसम्म उनी नफर्केपछि गोमतीले आमाको मोबाइल नम्बरमा फोन लगाइन् । तर फोन स्विच आफ आयो ।

त्यसपछि उनी उनी बाहिर आइन् । स्थानीय उनका गाउँले काका पर्ने भोजराज खडायतले ती महिलालाई घरबाट बोलाएर बारीमा लगेका रहेछन् । त्यहाँ करणी गर्ने विषयमा उनीहरूबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवादका क्रममा उनले महिलालाई ढुङ्गा हानेर हत्या गरे। त्यसपछि घरतर्फ जाँदै गर्दा मृतककी छोरी गोमतीले देखिन् ।

भोजराज आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गए । त्यसपछि उनले खरले छोपी अनिभाको शवलाई आगो लगाएर घटनास्थलबाट फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

मृतककी आमाको हत्या भएपछि छोरी गौमती खडायतको हत्या प्रयास गरिएको प्रहरीले जनाएको छ । ‘आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास भएको रहेछ,’ शैल्यशिखर–१ का वडाध्यक्ष भरतबहादुर खडायतले भने, ‘छोरीले भागेर ज्यान बचाएकी छन् ।’ गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए ।


आरोपित भोजराज खडायतलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत बरामद भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार खडायतलाई बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो ।

उनी उपर जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड हुन् । मृतकसँग उनको नाता गाउँले देवर–भाउजूको रहेको प्रहरीले जनाएको छ । उक्त घटना एक्लैले गरेको भनेर भोजराज खडायतले प्रहरीसँग स्वीकार गरेका छन् ।

तर प्रहरीले अनुसन्धानका लागि छिमेकी विरेन्द्र खडायत र तुला खडायतलाई समेत नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२८ जेष्ठ २०७९, शनिबार १५:१४
महेन्द्रनगर : भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार मोटरसाइकल चालकको मृत्यु भएको छ । से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका १ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव […]