दिवंगत आमाको सम्झनामा एमाले नेतृ कोमल वली परिवारद्वारा अक्षयकोष स्थापना

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १८:३८
 

नेपालगञ्ज : गायिका तथा एमाले केन्द्रीय सदस्य कोमल वलीको परिवारले दिवंगत आमा दीपा वलीको नाममा दाङका छात्राहरुका लागि २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दिवंगत आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको एमाले नेतृ कोमल वलीले बताइन् ।

अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने जानकारी दिदै भनिन–‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रष्टले व्यहोर्ने छ ।’

‘आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरुले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ उनले आमाले सबैका छोरी पढ्नु पर्छ भन्ने गरेको कारण दिवंगत आमाको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वन्चित छोरीहरुलाई सहयोग गर्ने विश्वास आफूले लिएको बताइन् ।


त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने उनले बताइन् ।

आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भनिन्, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान वर्षेनी दिने योजना बनाएका हौँ ।’

दीपा वली र उनका श्रीमान ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरद्वारा पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका माथी प्ररम्भिक छलफल

१५ मंसिर २०८०, शुक्रबार १८:३८
नेपालगञ्ज  : नेपालगञ्ज उप महानगरपालिकाले उपमहानगरको स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिका लागि पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी प्रारम्भिक मस्यौदा माथि सरोकारवालाबीच छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एमडिएम फ्रान्स, जिआईजेड, एएफडिको आर्थिक सहयोग तथा बि–ग्रूपको समन्वयमा स्वास्थ्यकर्मी र सरसफाईकर्मीको पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका तयार गरी प्रारम्भिक मस्यौदा माथि […]

सम्बन्धित