नेपालगञ्ज : बाँकेका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् ।
बाँकेका पालिकाहरू असार १० भित्र शुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका हुन् ।
पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन् । राप्तीसोनारी गाउँपालिकाले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ ।
योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याउने अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाले पनि नगरसभाको तयारी शुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिए ।
त्यसैअनुरूप विभिन्न छलफल लगायतका कार्य भइरहेका उनको भनाइ छ । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।