राष्ट्रिय नर्सिङ दिवसमा बाँकेमा तीन जना सम्मानित

सदरलाइन संवाददाता १५ माघ २०८०, सोमबार १७:४४
 

नेपालगञ्ज : ६२ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा तीन जना सम्मानित भएका छन् । नेपाल नर्सिङ संघ बाँके शाखाले सोमबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेमा ‘सेवा निवृत्त’ नर्सिङ स्टाफ कर्मचारीहरु नन्दकला खड्का, शारदा चौधरी र सुशीला अधिकारी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम् भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले खादा र टिका लगाएर सम्मान पत्रसहित सम्मान गरेका हुन् । सो क्रममा प्रमुख अतिथी श्रेष्ठले नर्स पेशाको भूमिका महत्वपूर्ण रहेपनि नर्सिङलाई पेशालाई विभेद गरिएको बताइन् ।

‘हाम्रो भुमिका महत्वपूर्ण छ, तर नर्सिङ सेवालाई सम्मान दिएको अवस्था छैन, नेतृत्व गर्ने भुमिकामा पुग्दा खेरी अवरोध गर्ने प्रवृत्ती छ,’ उनले भनिन् ‘अझैपनि हामी एक ढिक्का हुन सकेका छैनौ, हामी जहिले पनि अप्ठ्यारोमा छौं, आफ्नो अधिकारका लागि लड्ने बेलामा हामी एकजुट हुँदैनौं ।’ आफ्नो अधिकारका लागि नर्सहरु एकजुट नहुँदा सधैं विभेद खेप्नु परेको श्रेष्ठले बताइन् ।

उनले थपिन्, ‘हामीलाई अगाडी सार्नको लागि राज्य डराउँछ, हरेक अवसरबाट हामीलाई बञ्चित गरिन्छ ।’ नर्सले आफ्नो पेशालाई आफैले मर्यादित बनाउन सक्नुपर्ने प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको भनाई छ । नर्सले २४ सैं घण्टा बिरामीको सेवा गरेपनि कहिल्यै जस नपाएको उनले दुःखेसो पोखिन् ।


यस्तै संघ बाँकेका अध्यक्ष केसीले तीनै तहको सरकारबाट नर्सहरु पीडित भएको बताइन् । ‘नर्स भएकै कारण हामी पछाडी परेका हौं त ?’ उनले प्रश्न गर्दै भनिन् ‘तीनै तहका सरकार आउँदा पनि नर्सिङ पेशालाई सम्मान गर्न नसकेको अवस्था भइरहेको छ ।’

नर्स बाहेक अरु पेशामा जेष्ठता, योग्यता र कार्यदक्षताको मुल्यांकन हुने गरेपनि नर्सिङ पेशामा जतिसुकै जेष्ठता, योग्यता, कार्यदक्षताको मुल्यांकन नगरी नेतृत्वदायी भूमिकाबाट बञ्चित गराइएको केसीले बताइन् । नर्सका समस्यालाई नीति निर्माण तहमै ब्यवस्था गरेर सम्बोधन गर्न आवश्यक रहेकोमा उनले जोड दिइन् । नर्स भएकै कारण समस्यामा पिल्सिनु पर्ने अवस्था रहेको अध्यक्ष केसीको गुनासो छ ।

सम्मानित ब्यक्तिको तर्फबाट बोल्दै नन्दकला खड्काले नर्सिङ पेशामा एकले अर्कालाई असहयोग गर्ने प्रवृत्ती रहेको बताइन् । पछिल्लो समयमा नर्सहरु आफ्नो अधिकारका लागि एकतावद्ध हुन छाडिसके, पढ्ने बिद्यार्थीलाई मात्र नर्सिङ युनियन चाहिन्छ जस्तो भईसक्यो,’ उनले भनिन् । संघ बाँकेका कोषाध्यक्ष रुमकुमारी थनेतले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन कार्यसमिति सदस्य विष्णु श्रेष्ठले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बरिष्ठ पत्रकार स्वर्गिय ‘चाचा’को चौथो स्मृती दिवस

१५ माघ २०८०, सोमबार १७:४४
नेपालगञ्ज : नेपालगञ्जमा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को चौथो स्मृती दिवस मनाइएको छ । ‘वरिष्ठ पत्रकार स्वर्गिय प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठान’को आयोजनामा मानव सेवा आश्रमको नेपालगन्जमा आश्रित ५५ बढी ब्यक्तिहरुलाई बेलुकाको भोजन गराएर स्मृर्ती […]

सम्बन्धित