प्लान्ट क्वारेन्टाइन बन्द हुँदा नेपालगञ्ज नाकाको भरमा उद्योगी

सदरलाइन संवाददाता २ मंसिर २०८०, शनिबार १४:५७
 

नेपालगञ्ज : कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय, टुर मुकाम मोहना बन्द भएपछि उद्योगहरू प्रभावित भएका छन् । क्वारेन्टाइन बन्दका कारण आयात निर्यात ठप्प भएकाले उद्योग सञ्चालनमा समस्या भएको छ  ।

कैलालीसहित सुदूरपश्चिमको विभिन्न जिल्लामा उद्योग सञ्चालन गरेका उद्योगीले त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन सकिरहेका छैनन् । यो नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भइरहेको धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले बताए ।

प्लान्ट क्वारेन्टाइन बन्द हुँदा आफ्नो मात्रै नभई प्रायः सबै उद्योग सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको सो कार्यालय गएको साउन २८ गतेबाट बन्द भएको छ । त्रिनगर भन्सारमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई सङ्घीय सरकारले एक्कासि बन्द गरेपछि उद्योगका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थदेखि फलफूल आयात निर्यातसमेत ठप्प रहेको छ ।

त्रिनगर भन्सार भएर धान, गहुँ, मकै, दलहन, फलफूल तथा पशुपन्छी र दुधजन्य वस्तु आयात निर्यात हुन सकेको छैन । यी वस्तुको आयात निर्यात ठप्पले खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् ।

आयात निर्यात ठप्प भएको अहिलेको अवस्थामा उद्योग सञ्चालन गर्न नसकिने नवीन प्यालेट दाना उद्योग प्रालिका सञ्चालक दिनेश लम्सालको भनाइ छ । उनले भने, “बैङ्कको चर्को ब्याजदर समस्या छँदै थियो, आयात निर्यात ठप्पले समस्या झनै थपिएको छ ।


यथाशीघ्र प्लान्ट क्वारेन्टाइन कार्यालय पुनः सञ्चालनमा नआए उद्योगको चाबी सरकारलाई बुझाउने उद्योगीको भनाइ छ । त्रिनगर भन्सार नाकाबाट आयात निर्यात ठप्प भएपछि नेपालगञ्ज नाका भएर कच्चा पदार्थ आयात गर्न बाध्य छन् ।

नेपालगञ्ज नाकाबाट सुदूरपश्चिम प्रदेशमा रहेका उद्योगका लागि कच्चा पदार्थ भित्र्याउँदा ढुवानी लागत नै बढी हुने गरेको बताइएको छ । साउनमा प्लान्ट क्वारेन्टाइन बन्द भएपछि त्यहाँ कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना पनि अध्ययनका लागि विदेश गएका छन् ।

क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गर्दै आएको थियो । नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ता पनि सोही कार्यालयले जाँच गर्ने गरेको थियो ।

प्लान्ट क्वारेन्टाइन एक्कासि बन्दले आयात–निर्यात ठप्प भई उद्योग प्रभावित भएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले राजस्व असुलीमै गिरावट आएकाले कैलाली भन्सार नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाका लागि निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कात्तिक २० गते पत्र पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२ मंसिर २०८०, शनिबार १४:५७
नेपालगञ्ज : आइतवार सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आइतवार रातभर जाग्राम बसेर सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् […]