आइतवार छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सदरलाइन संवाददाता ३ मंसिर २०८०, आईतवार १२:४२
 

नेपालगञ्ज : आइतवार सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

वर्तालुले आइतवार रातभर जाग्राम बसेर सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आइतवार सप्तमी तिथि भए पनि सोमवार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यस वर्ष पनि पहिले जस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो ।


छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ ।

छठका लागि तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

काम गर्न टाढा पुगेका परिवारजन छठ पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौबस्ता औद्योगिक क्षेत्र निर्माण नहुँदै अतिक्रमणको चपेटामा

३ मंसिर २०८०, आईतवार १२:४२
नेपालगञ्ज : बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण शुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ । जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको चपेटामा परेका हुन् । सरकारले निर्माण गर्ने घोषणा गरे पनि नौवस्तास्थित […]