काठमाण्डौ : नाइजेरियाको एक विद्यालयमा बन्दुकधारी समूहले आक्रमण गर्दा सयौँ विद्यार्थीहरु बेपत्ता भएका छन् ।
नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी विद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा आएका बन्दुकधारीहरु प्रवेश गरेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको बीबीसीले जनाएको छ ।
बन्दुकधारीको आक्रमणलगत्तै विद्यालयका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिति नियन्त्रणमा लिएको खबरमा उल्लेख छ ।
बन्दुकधारीहरु हवाईफायर गर्दै विद्यालयभित्र प्रवेश गरेका थिए । घटनाको समयमा विद्यालयमा ८ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेकोमा केहीले भागेर ज्यान जोगाएका छन् भने केही हराइरहेका छन् ।
घटनामा केही सुरक्षाकर्मीहरु घाइते भएका छन् । यसैबीच नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गर्दै हराइरहेका विद्यार्थीहरुको खोजी कार्य तीव्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
यसअघि सन् २०१४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकको एक विद्यालयबाट विद्रोही समूह बोको हरामले २ सय ७० जना छात्राहरुको अपहरण गरेको थियो ।