माटोका भाँडाको बिक्री घट्दा कसगर समुदाय चिन्तित

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १४:३०
 

नेपालगञ्ज : बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसे पनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ ।

अन्य समयमा माटोको भाँडाको बिक्री कम भए पनि दसैं, तिहारजस्तो चाडपर्वमा बढी बिक्री हुने र त्यसबाट जीविकोपार्जन गर्न केही सहज हुने आशामा रहेका अधिकाशं कसगर अहिले चिन्तित देखिन्छन् ।

अहिलेको आधुनिक युगमा तिहारमा प्रयोग हुने विद्युतीय झिलिमिलीले आफ्नो व्यवसाय निरन्तर ओरालो लाग्दै गएको नेपालगञ्ज ३ का सुरेश कसगरको गुनासो छ ।

उनले दिपावली र तिहारमा धेरै बिक्री होला भनेर महिनौ मिहिनेत गरेर बनाएका माटोका भाँडाहरु सोचेजस्तो बिक्री नभएकाले कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताए ।

आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोको भाडाको बिक्रीमा कमी आउँदा वर्षौँदेखि माटोको भाँडा बिक्रीबाट जीवन धान्दै आएका कसगरहरुको पेशा नै सङ्कटमा परेको सुरेश कसगरको दुःखेसो छ ।

उनले थपे, ‘‘वर्षमा एक पटक त निकै राम्रो गरेर बिक्री होला भनेर आफुसँग भएको अलिअलि लगानी लगाएर ठूलो परिमाणमा दियो लगायत अन्य भाडाँहरु बनाउँछौ, तर सोचे जस्तो बिक्री नहुँदा मन निकै दुखेर आउँछ ।’’

सोही प्रकारले नेपालगञ्ज ८ का अर्का कसगर रमजान कसगरले आफुहरुले माटोको दियो, गाग्रो, पाला, जाँतो, नदिया, सिँगार दान, चुलो समेत बनाई आम्दानी गर्दै आएकोमा अहिले रेडिमेड झिलिमिली बत्ती, बल्ब, भाँडाहरूका कारण आफूहरूको पेसा नै सङ्कटमा परेको बताए ।


उनले पेशा नै सङ्कटमा पर्न थालेपछि अब परिवार पाल्न, बच्चालाई पढाउन निकै समस्या हुने देखिएकोले के गर्ने भन्ने चिन्ता बढ्दै गएको बताए ।

विगतका दिनमा निक्कै व्यापार हुने गरेकोमा अहिले बजारमा आएको रेडिमेट, प्लाष्टिकका भाँडाकुँडामा ग्राहकको आकर्षण बढ्दै जाँदा आफ्नो व्यापार दिन प्रतिदिन कम कम हुँदै गएको रमजानको भनाई छ ।

सोही प्रकारको गुनासो बर्दियाका कसगरहरुले पनि गरेका छन् । उनिहरुले पनि अहिले आएर माटोको भाँडाको बिक्री घट्दै गएकाले परिवारको दैनिक खर्च चलाउन समस्या हुन थालेको बताएका छन् ।

गुलरियाको वडा नम्बर ८ मा करिब ७५ जना कसगरहरुको बसोबास रहेको छ । माटोको भाँडाको बिक्री कम हुँदै गएपछि आफ्नो परिवारको दैनिक खर्च तथा छोराछोरीलाई पठाउन समस्या परेको गुलरिया ८ का अनवर कसगरले बताए ।

उनले खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्रीहरु पाला र गाग्रीलगायतका प्रयोग गर्ने परम्परा रहेकोमा पछिल्लो समय रेडिमेड बत्ती तथा प्लाष्टिक, स्टिलका भाँडा कुडाले गर्दा पेसा नै सङ्कटमा परेको बताए ।

सोही ठाउँका अर्का स्थानीय सरुजिद्दिन कसगरले स्थानीय र केन्द्र सरकारले कसगर जातीहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुर्ख्यौली पेसाको संरक्षण गर्ने निति ल्याउनुपर्ने माग गरे । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अल्लोको जुहारीकोट बेच्न जुम्लाबाट नेपालगञ्ज

२८ कार्तिक २०८०, मंगलवार १४:३०
नेपालगञ्ज : कनकासुन्दरी गाउँपालिका ८, भट्टभण्डारी गाउँ सिंजा जुम्लाका देवऋषि भट्ट अहिले नेपालगञ्जका विभिन्न सडक र टोल टोलमा भेटिन्छन् । ५७ वर्षीय भट्ट आफ्नो पाखुरामा पाँच सातवटा अल्लोबाट निर्मित जुहारीकोट र पछाडी झोला बोकेर टोल टोल र घरघरमा बिक्री गर्दै हिँड्दै गरेको भेटिन्छन् । भट्ट जुम्लादेखि अल्लोबाट निर्मित जुहारीकोट बिक्री […]