कोहलपुरका ७५ प्रतिशत नागरिक खानेपानीबाट वञ्चित

सदरलाइन संवाददाता १६ कार्तिक २०८०, बिहीबार १४:५२
 

नेपालगञ्ज : बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा खानेपानीको समस्या देखिएको छ । नगरका २५ प्रतिशत सर्वसाधारणलाई मात्रै खानेपानीका आयोजनाबाट पानी वितरण भएको हो ।

कोहलपुर नगरपालिकाअनुसार नगरमा २४ हजार १८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक परे पनि ६ हजार उपभोक्तालाई मात्र खानेपानी वितरण भइरहेको छ ।

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले नगरका ७५ प्रतिशत जनतासम्म आयोजनाको खानेपानी पुगाउन नसकिएको जनाउँदै उनीहरुले आफै हाते नल जडान गरेर वा बोरिङ गरेर खानेपानीको व्यवस्था मिलाएको बताए ।

उनले कोहलपुरभित्र सातवटा खानेपानी आयोजना रहेको जनाउँदै तीमध्ये चार वटा खानेपानी आयोजना सञ्चालनमा रहेको र ३ वटामा आयोजनाको काम चलिरहेकाले छिट्टै खानेपानीको धेरै समस्या समाधान हुने पनि बताए ।


कोहलपुरमा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि पहिलो पटक खानेपानी, सरसफाइ बोर्ड गठन गरिएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्य संयोजक रहनेगरी १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

गठन गरिएको बोर्डको सदस्यमा वडाध्यक्षहरु बद्रीप्रसाद जैसी, लालबहादुर राना, आपेन्द्रनाथ योगी, कल्पना शर्मा, वीरेन्द्रकुमार शाह र कोहलपुर बृहद् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसाल रहेका छन् ।

त्यसैगरी, अन्य सदस्यमा संगीन शर्मा, अनिता बुढाक्षेत्री, नन्दलाल पौडेल, खानेपानी डिभिजन कार्यालय नेपालगञ्ज र लुमन्ती आवासका लागि सहयोग समूहलाई सदस्यमा चयन गरिएको छ ।

बोर्डले कोहलपुरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने बोर्डका सदस्य संगीन शर्माले बताए । उनले नगरभित्रका सबै जनतालाई खानेपानी सुविधा उपलब्ध गराउन बोर्डले काम गर्ने जनाउँदै निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गराउन दवाव दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्बोच्चद्वारा रिगलको कैद मिनाहा बदर

१६ कार्तिक २०८०, बिहीबार १४:५२
नेपालगञ्ज : नेपालगञ्जका रिगल भनिने योगराज ढकाल रिगलको कैद मिनाहालाई सर्बोच्च अदालतले बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो । नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट […]