सडक सञ्जालले शहरसँग जोडिएपछि बघौडा बन्यो सुगम

सुशील कुमार लामिछाने १५ कार्तिक २०८०, बुधबार १४:०५
 

नरैनापुर (बाँके) : यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत् पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ ।

सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर बघौडा क्षेत्र अब दुर्गम रहेन । अब सुगम क्षेत्रको रुपमा परिवर्तन भएको छ ।

नेपालगञ्जदेखि नरैनापुरको सुइया बघौडासम्म कालोपत्रे सडक र विद्युत् लाइन पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

उनले नेपालगञ्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि सो क्षेत्रका गाउँहरुको मुहार उज्यालिएको बताए ।

केही समय पहिलेसम्म सुईया बघौडाको नाम सुन्नेबित्तिकै नाक मुख खुम्च्याउनेहरु अहिले यहाँको सडक र अन्य विकास हेर्न आउने गरेको अध्यक्ष साहले बताए । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा अजय श्रीवास्तवले कालोपत्रे सडक तयार भएसँगै अहिले दैनिक रूपमा सो क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताए ।


उनका अनुसार यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगञ्ज शहरसँग जोडिएको छ । ‘विगतका दिनहरु सम्झँदा अहिले सपनाजस्तै लाग्छ, यति छिटै कालोपत्रे सडकमा नेपालगञ्जबाट बघौडा पुग्ने र बत्ती बालेर बस्ने कल्पनासमेत गरेका थिएनौं’ श्रीवास्तवले भने ।

सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ । बघौडामा उत्पादित बस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ ।

स्वास्थ्य, शिक्षा, खानेपानी यातायात लगायत विकासका पूर्वाधारले बघौडा नेपालगन्जसँग जोडिँदै गएको स्थानीय अगुवा विक्रम यादवले बताए । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ ।

मोटरबाटोले सो क्षेत्रको मुहार नै फेरिदिएको स्थानीयवासी दिपक मौर्यले बताए । घर–घरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उनको भनाइ छ ।

सडक सञ्जालले गाउँदेखि शहर जोडिएपछि व्यापार व्यवसाय गर्ने बढिरहेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बघौडाको परिचय फेर्न आफूले पनि ठूलो प्रयास गरेको र अझै गरिरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत

१५ कार्तिक २०८०, बुधबार १४:०५
बर्दिया : बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]