बाँकेमा महसुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु

सदरलाइन संवाददाता १३ कार्तिक २०८०, सोमबार १४:४८
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले बाँकेमा लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न थालेको जनाएको छ ।

प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रले सो जानकारी दिएको छ । नेपालगञ्ज वितरण केन्द्रले यसअघि सार्वजनिक सूचना नै जारी गरेर ६० दिनभन्दा बढी समयदेखि विद्युत् महसुल भुक्तानी बाँकी बक्यौता रहेका ग्राहकलाई महसुल बुझाउन आग्रह गर्दै कात्तिक १२ गतेदेखि विद्युत् लाइन काट्ने जानकारी गराएको थियो ।

विद्युत प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जिल्लामा लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको सङ्ख्या २० हजार २३० रहेकाले लाइन काट्ने अभियान शुरु गरिएको जनाए । उनले आइतबार मात्रै १५० भन्दा बढी ग्राहकको लाइन काटेको जनाउँदै यो अभियान सात दिनसम्म जारी रहने बताए ।

लाइन काट्न थालेपछि आइतबार बक्यौता रकम बुझाउन धेरै सङ्ख्यामा ग्राहकहरू वितरण केन्द्र पुगेको प्रमुख लामिछानेले बताए । उनले बाँकेमा २० हजार २३० ग्राहकबाट ३७ करोड ९४ लाख ८७ हजार ६११ रुपैयाँ असुल गर्न बाँकी रहेको जनाउँदै २४ करोड रुपैयाँ सडक बत्ती र १३ करोड बढी अन्य उपभोक्ताको बाँकी रहेको बताए ।


प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारीगरी बाँकेका ८ स्थानीय तहलाई पनि सडक विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको थियो । स्थानीय तहलाई ४५ दिनभित्र महसुल नतिरे कारबाही गर्ने चेतावनी दिए पनि अझै सडकबत्तिको रकम नबुझाइएको वितरण केन्द्रले जनाएको छ ।

बाँकेका स्थानीय तहले सडकबत्तीका लागि विद्युत् उपभोग गरेबापत गत असार मसान्तसम्मको २४ करोड रुपैयाँ नतिरेको नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका अनुसार बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बक्यौता नेपालगञ्ज उपमहानगरपालिकाको २० करोड रुपैयाँ रहेको छ । बाँकी सातवटा पालिकाले सडकबत्ति बापतको ४ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा सेरामिक टायल उद्योग खुल्दै

१३ कार्तिक २०८०, सोमबार १४:४८
नेपालगञ्ज : पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने […]

सम्बन्धित