नेपालगञ्ज : पश्चिमको प्रमुख आर्थिक र औद्योगिक केन्द्र हो बाँके जिल्ला । तर औद्योगिक पूर्वाधार निर्माण गर्न सरकारदेखि जनप्रतिनिधि उदासिन बनेका छन् । उनीहरुको लाचारीका कारण खजुरा गाउँपालिकामा औद्योगिकग्राम र बैजनाथ गाउँपालिकामा नौवस्ता औद्योगिकक्षेत्र निर्माण हुन नसक्दा ‘आकाशको फल’ सावित भएको छ । यो कहिले बन्ने हो भन्ने निश्चित छैन भने अब बन्छकी बन्दैन त्यसको पनि टुङ्गो छैन ।
औद्योगिक पूर्वाधार नबन्नुको मुख्य दोषी यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरु छन् जसले पूर्वाधार निर्माणका लागि न वातावरण बनाउन सकेका छन् नत सम्बन्धित सरकारी निकायलाई बनाउन दवाव नै दिन सकेका छन् । गत असोज महिनामा बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल शुरु गर्ने निर्णय गरिएको थियो ।
बाँके तत्कालिन प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षमा नेपालगञ्जमा बसेको सर्वपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्दै जाने तर तत्कालका लागि पूर्वाधार निर्माणको काम पनि सुरु गर्ने सहमति जुटाउँदै हप्तादिनभित्र नै टेन्डर आह्वान तयारी गरेको थियो जुन हालसम्म शुरु हुन सकेको छैन ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
यस्तै निर्णय तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गका पालामा पनि भएको थियो तर औद्योगिक क्षेत्र नबन्नुको मुख्य कारण बस्ती व्यवस्थापन नगर्दा त्यसले सार्थकता पाउन सकेन ।
प्रस्तावित जग्गामा बसोबास गर्नेहरूले आफूहरूको उचित व्यवस्थापन गर्नपर्ने माग गर्दै आएका छन् । प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका—३ मा छुट्याइएको ३ सय ३८ बिघा क्षेत्रफल जमिनभित्रै २ सय ६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
पटक—पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन । स्थानीयको अवरोधकै कारण परियोजनाको काम शुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २ सय ६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् ।