नेपालगञ्जमा सद्भावको आधार बलियो बनाउने योजना

सदरलाइन संवाददाता ११ कार्तिक २०८०, शनिबार १४:५४
 
नेपालगञ्जमा आयोजित सद्भाव र्‍यालीमा सहभागी धर्मगुरु लगायत ।

नेपालगञ्ज : नेपालगञ्जलाई सामाजिक तथा धार्मिक सहरको रुपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।

सद्भावको सहरको आधारलाई थप बलियो बनाउने दीर्घकालीन योजनाका साथ मुख्य धर्म केन्द्रित नयाँ युवापुस्ता लक्षित कार्यक्रम सञ्चालनको गृहकार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘यो अभियान नेपालगञ्जसँग जोडिएको हुँदा आमनागरिकबाट सहकार्य हुने अपेक्षा प्रशासनको छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले यो अभियानका सन्दर्भमा आमजिल्लाबासीसँग राय सुझाव समेत माग गरिएको जानकारी दिए ।


असोज मध्यमा नेपालगञ्जमा दुई समुदायबीच तिक्तता बढेपछि प्रशासनले भविष्यमा यसखालका घटना नहोस् भनेर दीर्घकालीन सोचका साथ हिन्दु र मुस्लिम धर्ममा आस्था राख्ने अगुवा युवाको सहभागितामा अन्तर संवादमार्फत अघि बढ्ने योजना बनाएको हो ।

नेपालगञ्जमा हिन्दु, मुस्लिमलगायतका विभिन्न धर्मका गुरुको सहभागितामा सद्भाव समिति रहेको छ । सो समितिले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न प्रशासनसँग मिलेर पहलकदमी गर्दैआइरहेको छ । असोजमा दुई समुदायका केही ब्यक्तिबीच देखिएको असमझदारी अन्त्यका लागि समेत धर्मगुरुले अग्रसरता देखाएका थिए ।

असोजमा भएको तनावपछि बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आएका पोखरेलले सामाजिक सद्भावलाई प्राथमिकता दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा निरन्तर सचेतना जगाउँदै ट्राफिक प्रहरी

११ कार्तिक २०८०, शनिबार १४:५४
नेपालगञ्ज : बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ । शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत शनिवार नेपालगञ्जको फुल्टेक्रालगायत विभिन्न […]