डिपट्युवेल निर्माणपछि किसान हर्षित

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १५:१६
 

नेपालगञ्ज : सिँचाइको बैकल्पिक व्यवस्था नहुँदा सधैं आकाशे पानीको भर पर्नुपर्ने बाँके, राप्ती सोनारी–१ कुसुमस्थित सौरी गाउँबासीको बाध्यता अन्त्य भएको छ । गाउँमा डिपट्युवेल सिचाइँ योजना सम्पन्न भएपछि किसानले यतिखेर राहत महशुस गरेका छन् ।

युवा समाजसेवी अर्जुन ओलीको विशेष पहलमा डिपट्युवेल सिँचाइ योजनाको काम सम्पन्न भएपछि किसानको बर्षौदेखिको सपना पुरा भएको हो । सिँचाइ सुबिधा नहुँदा यसअघि गाउँमा हिउँद र बर्षायाममा मात्रै खेती गरिन्थ्यो । त्यो पनि आकाशे पानीले साथ दिएपछि मात्रै बालीबोट राम्रो हुन्थ्यो ।

गाउँमा सिचाइँ सुबिधा नहुँदा ब्यहोर्नु परेको बर्षौदेखीको यस्तो समस्यालाई पत्रकारिता पेशामा संलग्न ओलीले भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय नेपालगञ्जसम्म पुर्याएर बजेट विनियोजन गर्न विशेष पहल गरेका थिए । उनको विशेष आग्रहमा कार्यालयले बजेट विनियोजन गर्दै ‘नमुना सौरी डिपट्युवेल योजना’ को कामलाई प्राथमिकता दिएपछि अहिले कामले पूर्णता पाएको हो ।

‘गाउँमा यसअघि सिचाइँ सुविधा नै थिएन, सिचाइँ सुबिधा नहुँदा पनि पुर्खाहरुले धेरै दुःख कष्ट गरी खेती किसानीको काम गर्नुभयो,’ ओलीले भने ‘अब पनि त्यसरी सिचाइँ सुबिधा बिना कृषि कर्म गर्न सम्भव थिएन, तसर्थ मेरो अनुरोधमा भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयले बजेट विनियोजन गरिदियो र गाउँमा डिपट्युवेल सिचाइँ योजना ल्याएर सम्पन्न गर्ने काम गरियो, अब गाउँमा खेती किसानी गर्नलाई धेरै सहज भएको छ ।’

गत असारमा निर्माण सम्पन्न भएको डिपट्युवेलको मद्धतले गाउँका केही किसानले धान रोपेका थिए, भने खडेरीमा धान र मकैलाई सिचाइँ गर्न सहज भयो । गाउँमा सिचाइँ सुबिधा पुग्दा किसानहरुमा खुसीको सिमा नै छैन । स्थानीय किसान टिकाराम बुढाथोकीले समाजसेवी ओलीको विशेष पहलले गर्दा गाउँमा डिपट्युवेल सिचाइँ योजना ल्याउन सम्भव भएको बताए । ‘उहाँको पहलले गर्दा नै हामीले अहिले सिचाइँ सुबिधा पायौं, यो हाम्रै सम्पत्ती भएकाले यसको संरक्षण र सम्बद्र्धनमा अब विशेष ध्यान दिनेछौं,’ उनले भने ।


भुमिगत जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय नेपालगञ्जले ४७ लाख ५० हजार रुपैयाँको लागतमा डिपट्युवेल योजना निर्माण गरेको हो । डिपट्युवेलसँगै सिचाइँका लागि पाईप लाईन, २५ केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर, च्याम्बर निर्माण गरिएको कार्यालयले जनाएको छ ।

डिपट्युवेल निर्माण गर्न कार्यालयले ठेक्का सम्झौता गरेपनि सहजीकरणका लागि स्थानीय बासिन्दाको सहभागितामा उपभोक्ता समिति गठन गरिएको थियो । डिपट्युवेल खन्न सुशिल कन्स्ट्रक्शन कम्पनी र सिचाइँ प्रणाली निर्माण गर्न विकास निर्माण सेवाले ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ ।

उक्त डिपट्युवेलबाट करिव ४० विघा जमिनमा ढुक्कसँग सिचाइँ गर्न सकिने कार्यालयका प्रमुख किरण चौधरीले बताए । ‘यस डिपट्युवेलबाट ४० विघा जमिनलाई आरामसँग सिचाइँ गर्न सकिन्छ, सिचाइँको बैकल्पिक ब्यवस्था नभएको ठाउँमा यस्ता डिपट्युवेल धेरै नै प्रभावकारी हुन्छन्,’ उनले भने ।
कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा नमुना सौरी डिपट्युवेल योजनासहित डुडुवामा पेरानी डिपट्युवेल योजना, एग्रिकल्चर डिपट्युवेल र महाकाली डिपट्युवेल योजना र खजुरामा किसान कल्याण डिपट्युवेल योजना तथा हरियाली डिपट्युवेल योजना निर्माण सम्पन्न गरेको जनाएको छ ।
डिपट्युवेल खन्ने काम सम्पन्न भएपनि डुडुवास्थित जयराम डिपट्युवेल योजना, बर्दियास्थित ककौरा, कालीगौडी, मोतिपुर लखवार, सानोश्री, हराभरा, देउराली र ढकैला डिप ट्युवेल योजनाको ट्रान्सफर्मर जडान लगायतका काम बाँकी रहेको बताइएको छ ।

कार्यालयका अनुसार बाँके र बर्दियामा कुल १३ वटा डिपट्युवेल खन्न २ करोड ५७ लाख ६२ हजार ५ सय ३६ रुपैयाँमा सम्झौता भएको थियो । यस्तै करिव ३ करोड रुपैयाँको लागतमा बिद्युतीकरण, पाईप लाईन बिस्तार लगायतका काम गरिएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छिनछिनमा बिद्युत जाने समस्याले राप्तीपारीका बासिन्दा हैरान

१३ भाद्र २०८०, बुधबार १५:१६
राप्तीसोनारी (बाँके) : छिनछिनमा बिद्युत जाने समस्याले राप्तीपारीका स्थानीय बासिन्दाले हैरानी ब्यहोरेका छन् । राप्तीपारी बिद्युत वितरणका लागि नेपाल बिद्युत प्राधिकरणले बैजापुरको धामपुरमा सव–स्टेशन निर्माण गरी कोहलपुरदेखि ३३ केभी प्रशारण लाईन बिस्तार गरेको थियो । लामो समयदेखि अलपत्र परेको बिद्युतीकरण योजना दुई वर्षअघि सम्पन्न भएपछि उपभोक्ताले बिद्युत सेवा उपयोग गर्न […]