जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण

सदरलाइन संवाददाता २५ भाद्र २०८०, सोमबार १५:१७
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले सञ्चलान गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । विपन्न बालवालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरुको भर्ना संख्या बढ्दै गएको हो । छात्राहरुलाई घरधन्दामा मात्र सीमित गर्दे आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैंले छात्रा भर्ना अभियानलाई तीव्रता दिएका छन् ।

जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरुका लागि कन्या विद्यालय सञ्चालन गरेको हो । पालिकाले वडा नम्बर ३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कन्या विद्यालयका रुपमा अघि बढाएको थियो ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकाले छात्राहरुका लागि मात्रै यो वर्षदेखि कक्षा ६ सम्म अध्यापन शुरु गरेको हो । विद्यायलय सञ्चालनको पहिलो वर्ष नै छात्राहरुको आकर्षण बढेको पाइएको छ ।

विद्यालयमा छात्राहरुको आकर्षण सोचे भन्दा राम्रो भएको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले बताइन् । विद्यालयमा छात्र भन्दा छात्राहरु मात्रै पढ्दा पनि पहिलाको भन्दा अहिले संख्या बढ्दो स्थितिमा रहेको समेत प्रधानाध्यापक शाहीको भनाई छ ।


कन्या विद्यालय सञ्चालनपछि अभिभावकहरु पनि खुशी देखिन्छन् । पढ्नका लागि छोरीहरुलाई जति बढी सुविधा भए त्यति राम्रो हुने अभिभावकहरु बताउँछन् । छोरीहरुले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहेका कारण अभिभावकहरु अझ बढी खुशी देखिन्छन् ।

सुरक्षित, भयरहित र महिलामैत्री विद्यालय स्थापना गर्ने गरी कन्या विद्यालय सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । गाउँपालिकाले एउटा आफ्नो प्रोजेक्टको रुपमा यो विद्यालय सञ्चालनमा ल्याएको बताउँदै उनले २०८४ सालसम्ममा कक्षा १० सम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।

छोरीहरु शिक्षाबाट बञ्चित नहोउन् भनेर सबैको पहुँच र राम्रो सुरक्षित वातावरणको लागि कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । पालिकाले विद्यालयमा छात्राहरुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोशाक र आउन जानका लागि निःशुल्क यातायातको पनि व्यवस्था गरेको अध्यक्ष खाँले बताए । उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरुलाई समावेश गर्ने गरी पालिकाले यातायातको व्यवस्था गरेको छ ।

विशेषगरी मधेशी तथा मुस्लिम समुदायका लागि कन्या विद्यालय नहुँदा छोरीहरुको उमेर बढ्दै जाँदा विद्यालय नपठाउने गरिएको छ । जसका कारण जानकी गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफैं प्रहरीको सम्पर्कमा आए फरार कर अधिकृत पौडेल

२५ भाद्र २०८०, सोमबार १५:१७
नेपालगञ्ज : नेपालगञ्ज एअरपोर्टबाट जिल्ला प्रहरी बाँकेले श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेपछि फरार भएका अर्का कर अधिकृत दीपक पौडेल प्रहरीको सम्पर्कमा आएका छन् । पौडेलले बाँके प्रहरीमा फोन सम्पर्क गरेर प्रहरी कार्यालयमा आफैं उपस्थित हुने बताएको बाँके प्रहरी प्रवक्ता डीएसपी […]

सम्बन्धित