बाजुराको स्याउ असोजभित्रै नेपालगञ्ज पुग्ने

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १६:१३
 

बाजुरा : बाजुरामा उत्पादित स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको छ । जिल्लाको स्वामिकात्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपलिकाको स्याउ एक साथ तीनवटा सहरसम्म ढुवानी गरिने भएको हो ।

कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीयहरुले स्याउ ढुवानीमा ५०/५० प्रतिशत अनुदान दिने भएका छन् । जिआइजेटले स्याउका लागि आवश्यक पेटी सहयोग गर्ने भएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिकाबाट तीन हजार पाँच सय पेटी र बुढीनन्दा नगरपालिकाबाट एक हजार पाँच सय पेटी स्याउ ढुवानीका लागि अनुदान दिइने भएको छ । ‘किसान आत्तिनु भएको छ । तर, स्याउ तयार भएका छैनन् । असोजमा ढुवानी गर्दा ठिकै हुने देखिएको छ,’ ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टले भने ।

बजार नपाएर बारीमै कुहिने स्वामिकार्तिक खापर गाउँपालिकामा फलेको ५२ हजार पाँच किलोग्राम स्याउ असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढी पुग्ने भएको हो । बुढीनन्दा नगरपालिकाबाट २२ हजार पाँच सय किलोग्राम स्याउ सहरहरुमा बिक्रीका लागि ढुवानी गरिने भएको छ । भरिया, खच्चर र ट्रक हुँदै बाजुराको स्याउ बजारसम्म आउने छ । बाजुराको स्याउ किसानले बारीमा ४० रुपैयाँ प्रतिकिलोग्राम मूल्य पाउने छन् । कृषि ज्ञान केन्द्र, गाउँपालिका र किसानको संयुक्त छलफलले ‘ए’ ग्रेडको र ‘बी’ ग्रेडको ४० तथा ‘सी’ ग्रेड स्याउको मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकिएको छ ।


भदौको अन्तिम साताबाट स्याउ टिप्ने र कार्टुनमा राख्न सुरु गरिनेछ । असोजमा सुर्खेत, नेपालगञ्ज र धनगढीसम्म बाजुराको स्याउ पुग्नेछ । यसरी किसानका बारीबाट किनेको स्याउ बजारसम्म पुर्याउन लाग्ने ढुवानी खर्च कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले व्यहोर्ने छन् । कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख विक्रम भट्टका अनुसार स्वामिकात्तिक खापर गाउँपालिभित्रका किसानले उत्पादन गरेको स्याउ तिलिचोकामा जम्मा गरिने छ । तिलिचौकमा जम्मा भएको स्याउ ट्रकमार्फत कर्णालीको सडक हुँदै धनगढीसम्म ल्याइने छ । बाजुरा–मार्तडी सडक हुँदै स्याउ ढुवानी गर्न नसकिने भट्टले बताए ।

बाजुरामा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५० हेक्टरमा स्याउ खेती गरिएको थियो। एक सय ७० हेक्टरमा मात्र लगाएको स्याउ फलेको थियो । एक सय ८० हेक्टरमा लगाएको स्याउले फल दिन शरु गरेन । जिल्लामा सो आर्थिक वर्षमा एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याँक छ ।

जिल्लामा आर्थिक वर्ष २०८९/८० मा तीन सय ७० हेक्टरमा स्याउ खेती गरिएको थियो । एक सय ७५ हेक्टरमा लगाएको स्याउ मात्र फलेको थियो भने एक सय ९५ हेक्टरमा लगाइएको स्याउले फल दिन शुरु गरेको छैन । गत आर्थिक वर्षमा एक हजार एक सय ३७ मेट्रिकटन स्याउ जिल्लामा उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित जनता माविमा फेरी तालाबन्दी

२१ भाद्र २०८०, बिहीबार १६:१३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा बिहीवार फेरी तालाबन्दी गरेका छन् । जनता माबिमा लामो समयदेखि बिद्यालय ब्यबस्थापन समिति गठन हुन नसकेको पुरानो समितिको म्याद सकिएकोले काम गर्न समेत नदिएको र समिति गठन गर्न प्रधानाध्यापकले ढिलासुस्ती गरेको भन्दै क्रान्तिकारी […]