तीन पटक म्याद थप्दासमेत कार्य सम्पन्न भएन

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १६:२५
 

नेपालगञ्ज : तीन पटक म्याद थपिँदासमेत भेरी अस्पताल नेपालगञ्जको नयाँ तथा अत्याधुनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन । २५० शय्याको सो अस्पताल भवनको निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताएका छन् । तीन तीन पटकसम्म म्याद थप गरिँदासमेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उनको छ । भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उनले उल्लेख गरेका छन् ।

ध्यक्ष शाहका अनुसार २०७८ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले ३२ करोड रुपैयाँको लागतमा ठेक्का पाएको थियो । तर समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन । पहिलो पटक म्याद थप गरी २०७९ साल भदौ १५ सम्म, फेरि म्याद थप गरी मङ्सिर मसान्तसम्म र पुनः म्याद थप गरी फागुन मसान्तसम्ममा हस्तान्तरण गरिने सम्झौतामा उल्लेख थियो ।


अहिलेसम्म अस्पताल भवन निर्माण गरी हस्तान्तरण हुन नसक्दा त्यसको मार बिरामीले खेपिरहेका छन् । पुरानो भवनमा रहेको आपत्कालीन विभागमा एमआरआई मेसिन जडान गर्नुपर्ने भएकाले नयाँ भवन हस्तान्तरण नगरिँदै आकस्मिक सेवा नयाँ भवनमा सारेर कामचलाउ भइरहेको अस्पतालले जनाएको छ ।

प्रवक्ता डा। सङ्केत रिसालले अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएकोमा नयाँ भवन बनेपछि सहज हुने विश्वास गरिएको तर अझै पनि निर्माण पूरा नहुँदा समस्या बढ्दै गएको बताए । उनले बिरामीको चापसँगै ठाउँ अभावले समस्या भएको बताएका छन् ।

कोभिड महामारीपछि भेरी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। पछिल्ला दिनमा दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी यहाँ उपचार गर्न आउने गरेका छन् । भेरी अस्पताल नेपाल सरकारको स्वीकृत सय शय्या र अस्पताल विकास समितिबाट थप ५० गरी १५० शय्या क्षमतामा सञ्चालनमा छ । सरकारले पाँच सय बेड क्षमतामा अस्पताल स्तरोन्नति गर्न सैद्धान्तिक निर्णय गरे पनि जनशक्ति र भौतिक पूर्वाधारको अभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव

६ भाद्र २०८०, बुधबार १६:२५
धनगढी : कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आज आयोजना गरेको डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणस्म्बन्धी संचारकर्मीसहित सरोकारवालासँगको अन्तरक्रियामा अभियानलाई प्रभावकारी बनाउनु पर्ने बताइएको हो । डेङ्गु नियन्त्रणका लागि लार्भा खोजी र नष्ट अभियानलाई जेठबाटै सञ्चालन गरिए […]