जानकी (बाँके) : देशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्कीनको संक्रमण बाँकेको जानकीमा देखिएपछि किसान चिन्तित् बनेका छन् ।
जसका कारण किसानहरुले लाखौँ क्षति व्यहोर्नुपरेको छ । लम्पी स्कीन रोगका कारण किसानहरुका वस्तुभाउ मरेका छन् भने दुध उत्पादनमा समेत कमी हुदाँ किसानहरु मारमा परेका छन् । विभिन्न बैँक तथा सहकारीबाट सबैभन्दा वढी कर्जा लिएर पशुपालन गरिरहेका स्थानीय किसान जानकी गाउँपालिका ५ बाँकेका तिरथराम यादव र राम वहादुर गडरियाले दुध उत्पादनमा कमी आउँदा आफूहरु समस्यामा परेको बताउँछन् ।
देशव्यापीरुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि जानकी गाउँपालिकाले किसानहरुको घरघरमा पुगेर समेत औषधी उपचार गर्दै आएको पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्का बताए । उनले देशव्यापी रुपमा फैलिएको लम्पी स्कीन रोगले गर्दा किसानहरु प्रत्यक्ष मारमा परेको समेत बताए ।
साथै खड्काले जनावरमा लागेको जुनसुकै रोग लागे पनि दुध काँचै नपिउन र सकेसम्म दुध उमालेर मात्र पिउनाले कुनै मानवीय स्वास्थ्यमा नराम्रो असर नपर्ने बताए ।
वस्तुभाउमा लम्पी स्कीन रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयबाट केही औषधी पठाएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । जिल्ला पशु सेवा कार्यालयबाट पठाएको औषधीले मात्र नपुग्ने भएकोले पालिकाको तर्फबाट पनि गर्ने र कार्यपालिकाको तर्फबाट बैठक बसेर किसानहरुलाई परेको पिडामा क्षतीपुर्तीको व्यवस्था मिलाउने समेत अध्यक्ष खाँले बताए ।
साथै रोग नियन्त्रणका लागि घरघरमा पुगेर निःशुल्क सेवा प्रदान गर्न पालिकाको पशु सेवा शाखाबाट डाक्टरलाई आफूले निर्देशन समेत दिइसकेको अध्यक्ष खाँले बताए ।