नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराएका बाँके जिल्ला खेलकुद विकास समितिका खेल पदाधिकारीहरुले आन्दोलन गरेका छन् ।
यसअघिनै निर्माणकार्य रोक्ने चेतावनी दिएका जिल्ला अध्यक्ष शाहलाई राखेपका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि जिल्लाले कारबाहीका लागि ध्यानाकर्षण गराएको थियो । तर, त्यसको कहिंकतै सुनुुवाई नभएपछि आन्दोलनको अवस्था आएको हो ।
नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको समाचार प्रकाशमा आएपनि राखेपले सुनुवाई नगरेको गुनासो जिल्ला अध्यक्ष सन्दीपजंग शाहको छ ।
प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर गरिरहेको काममा राखेपको निगरानी विनै ठेकेदारका मर्जीमा काम भइरहेको छ ।
‘त्यति धेरै कुरा हुँदापनि कारबाहीको साटो अझै निर्माण अनुगमन गरिएको छैन,’ राखेपमा अराजकताको पराकाष्ठा नाघेको गुनासो गर्दै अध्यक्ष शाहले भने, ‘बाध्य भएर प्रदेश खेलकुद कार्यालयमा तालाबन्दी गरेका छौं ।’ राम्रो अनुगमन व्यवस्था नगरिए निर्माणसमेत रोक्ने चेतावनी जिल्ला खेलकुदले दिएको छ ।
‘करोडौंको काम भइरहेको छ, क्वालिटी कन्ट्रोलका लागि एक जना राम्रो दक्ष प्राविधिक खटाउनुपर्ने होइन ? राखेपप्रति आक्रोश व्यक्त गर्दै जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष शाहले भने, ‘आर्थिक चलखेलमा लिप्त इन्जिनियर लम्साललाई खटाएर हाम्रा खेलपूर्वाधारमा भइरहेको भ्रष्टाचारविरुद्ध चुप लाग्न सकिन्न ।’
निर्माण निगरानीका लागि राखेपले लम्साललाई खटाइएको जानकारी दिएपछि अध्यक्ष शाहले फिल्डमा नभेटिएको भन्दै खोजी गरेका थिए । त्यसक्रममा लम्सालले उल्टै शाहलाई अपशब्द बोलेपछि अवस्था बिग्रँदै गएको हो ।