चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना

सदरलाइन संवाददाता २२ असार २०८०, शुक्रबार १३:१३
 

कोहलपुर (बाँके) : आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका–४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पौड्यालले विभिन्न व्यक्ति र संस्थाहरू सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको बताए ।

‘विद्यालयमा विद्याकी देवी सरस्वती माताको मन्दिर थिएन । चन्दा संकलनबाटै मन्दिर स्थापनाको पहल थालेका थियौं । सफल पनि भयौं । खुसी लागेको छ,’ उनले भने, ‘यो कार्यमा साथ दिने सबैलाई मेरो व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ विद्यालय परिसरमा स्थापना गरिएको सरस्वती मन्दिरको उदघाटन समेत गरिएको छ ।

उक्त मन्दिरको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफूले सक्ने सहयोग गर्ने बताइन् ।


‘मेरो निर्वाचन क्षेत्र यहाँ नभए पनि मेरो घर र मत हाल्ने क्षेत्र चाहिँ यही नै हो,’ सांसद नमुनाले भनिन्, ‘कोहलपुरको विकासमा मेरो सधैं चासो र चिन्ता रहन्छ । आफ्नो ठाउँबाट गर्ने सहयोग म गर्छु ।’ विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तर समेत राम्रो हुनुपर्नेमा उनले जोड दिइन् । विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनुपर्ने सांसद नमुनाले बताइन् ।

विद्यालयका प्रधानाध्यापक मोहन चौधरीले ३ लाख २२ हजार २ सय ४९ रूपैयाँमा सरस्वती मन्दिर निर्माण सम्पन्न भएको जानकारी दिए । ‘सबैबाट सहयोग संकलन नै गरेर मन्दिर स्थापना भएको हो,’ उनले भने, ‘विद्यालय परिसरमै विद्याकी देवी सरस्वती माताको मन्दिर निर्माण भएपछि विद्यार्थीहरूलाई समेत सहज हुन्छ ।’

सो अवसरमा मन्दिरमा स्थापना सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायत उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका विद्यालयमा शनिवारदेखि १४ दिन वर्षे विदा

२२ असार २०८०, शुक्रबार १३:१३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखि साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो । नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी शनिवारदेखि […]