दाङ : दाङमा टिपरको ठक्करबाट मृत्यु भएका दुई किशोरको शव घरपरिवारले बुझ्न सहमत भएका छन् ।
उचित क्षतिपूर्ति र चालकलाई कडा कानुनी कारबाहीको माग राख्दै आफन्त तथा परिवारजनहरूले माग राख्दै आन्दोलनसमेत थालेका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय, घोराहीमा भएको दुई पक्षीय वार्ताले सहमति जुटाएको छ ।
‘बीमाले तोकेको रकमभन्दा अतिरिक्त प्रति परिवार एक लाख ५० हजारका दरले थपेर राहत दिने सहमति भएको पीडित पक्षबाट वार्तामा बसेका बालेन्द्र केसीले जानकारी दिए ।
‘बीमाभन्दा अतिरिक्त डेढ/डेढ लाख रुपैयाँ दिने, निःशुल्क शववाहन उपलब्ध गराउने सहमति भयो’, उनले भने, ‘कानुनीबमोजिम हुने कारबाही र अन्य राहतको प्रक्रिया अघि बढाउने सहमति भएको हो ।’
शुक्रबार राति घोराही उपमहानगरपालिका–१० झारबैरामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका–४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको छ । अहिले पोष्टमार्टम गर्न थालिएको छ ।