ठेकेदारलाई कारवाहीको माग गर्दै खजुरामा चक्काजाम

सदरलाइन संवाददाता २ असार २०८०, शनिबार १३:५८
 

खजुरा (बाँके) : एक हजार ८ सय मिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँकेका खजुराका स्थानीय आन्दोलित भएका छन् । नेपालगञ्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगञ्ज गुलरिया सडक अवरुद्ध पारेका छन् ।

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिरहेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्शन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्षदेखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् ।


ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । बाटो खनेर पहिलो चरणको गिट्टी बिच्छाइएको भरमा ८५ प्रतिशत काम सम्पन्न भएको भन्दै सडकले ठेकेदारलाई भुक्तानी गरिदिएको स्थानीयको आरोप छ । सडकको उचाई सम्झौता बिपरित घटाउनुका साथै नाला र फुटपाथ निर्माणमा पनि गुणस्तरहिन काम भएको उनीहरुको भनाई छ ।

बिहानैदेखि सडकमा निस्केका खजुराबासीहरु सडकमा जुट्ने क्रम थपिँदै गएको छ । स्थानीयले सडक अवरुद्ध गर्न राखेको सामग्री प्रहरीले हटाउने प्रयास गरेपनि स्थानीयले हटाउन दिएका छैनन् । सडकको अधिकारीहरु खजुरामा नै आएको ठेकेदार कम्पनीको सम्झौता खारेज गर्दै अर्को ठेक्का दिने ग्यारेन्टी गर्नु पर्ने प्रदर्शनकारीको माग छ ।

सो सडक निर्माण थालेको ५ वर्ष पछि नेपालगञ्ज गुलरिया सडकको ४ लेनका लागि बाँकी भागको ठेक्का पाएको शर्मा एण्ड कम्पनीले काम थालेको ६ महिनामा उच्च प्रगति गर्दा गजुरमुखीका ठेकेदारले भने आँखामा छारो हाल्ने काम मात्र गरेको खजुराका स्थानीय अगुजा दीपक ढकालले बताए ।

यस अघि पनि पटक पटक आन्दोलित भएका खजुराबासीलाई एक दुई दिन काम गरे जस्तो गर्ने र फेरि बेपत्ता हुने ठेकेदारको प्रबृत्तिले आजित पारेपछि पुनः आन्दोलन गर्नु परेको क्षेत्र संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा ‘म्याग्जिलो फेसियल’ सर्जरी सेवा शुरु

२ असार २०८०, शनिबार १३:५८
नेपालगञ्ज : भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा शुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा शुरु भएको हो । बासगढी नगरपालिका ६ बर्दियाका १४ वषीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतिको शुक्रबार […]

सम्बन्धित