नेपालगञ्ज आइसीपी छिट्टै सञ्चालनमा आउँदै

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १३:२६
 

नेपालगञ्ज : नेपालगञ्ज एकिकृत भन्सार जाँचचौकी (आईसिपी) निर्माणको काम सम्पन्न भएको छ । आईसिपीको ‘फिनिसिङ्ग’ को छिटफुट काम मात्रै बाँकी रहेकाले एक महिनाभित्र पूर्णरुपमा सञ्चालन गर्ने तयारी छ ।

इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज आईसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रका अनुसार, संचालन एवं व्यवस्थापन गरे वापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख बुझाउनुपर्ने छ । खुल्ला प्रतिस्पर्धाबाट उच्च मूल्य बोलकबोल गर्ने कम्पनीलाई छनौट गरिएको हो ।

नेपालगञ्ज भंसार जाँचचौकी बहुप्रतिक्षित आयोजना हो । भारत सरकारको सहयोगमा उक्त परियोजना बनेको हो । भारतले हस्तान्तरण गर्ने बित्तिकै संचालनको जिम्मेवारी पाएको नेपाली नीजि कम्पनीलाई आईसिपी हस्तान्तरण गरिने छ । डिसेम्बर २०२२ मा सक्नुपर्नेमा कोरोनाका कारण पाँच महिना म्याद थप गरिएको थियो ।

आइसिपी क्षेत्रमा ब्लक बिछ्याउने र स्टिल स्ट्रक्चर संरचना निर्माण सकिएको र अधिकांश पक्की भवन निर्माण पूरा भइसकेको छ  । इन्टरमोडल यातायात विकास समितिले आईसिपीको काम सम्पन्न भइसकेकोरुपमा लिएको छ । केही सामान्य काम बाँकी रहेकाले अब एक महिनाभित्र संचालन हुने अनुमान गरेको छ ।


८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकको व्यवस्था रहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) निर्माण गर्न नेपाल—भारत सरकारबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगञ्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भए पनि विराटनगर र वीरगञ्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

आईसिपी सञ्चालन पछि नेपालगञ्ज नाका हुँदै आयात निर्यात प्रभावकारी हुने अपेक्षा गरिएको छ । कतिपयले आईसिपीसंगै सुख्खा बन्दरगाह पनि निर्माण गर्नुपर्ने माग अघि सारेका छन् । नेपालगञ्ज भन्सार नाकामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज पश्चिमको प्रमुख भन्सार नाकाकारुपमा स्थापित भएपनि एकिकृत भंसार जाँचचौकीसंगै सुख्खा बन्दरगाह निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको हो ।

शनिवार नेपालगञ्जमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बरिष्ठ उद्योगी संजय अग्रवालले यो बिषयको उठान गरेका हुन् । एकिृकत भंसार जाँचचौकी (आईसिपी) निर्माण भई सञ्चालनको अन्तिम चरणमा छ तर उक्त पूर्वाधारले तेस्रोमुकुलसंग हुने कारोवारलाई बढावा नदिने उनीहरुले बताएका छन् ।

एकिकृत भन्सार जाँचचौकीले हालकै भन्सार कार्यालयको कामको सहजिकरण र व्यवस्थापन गर्ने भए पनि यसले तेस्रो मुलुकसंग हुने आयात निर्यातलाई खासै फरक नपर्ने मन्त्री ज्वालासंगको भेटघाट पछि जारी बिज्ञप्तिमा उल्लेख छ । तसर्थ पश्चिम नेपालको प्रमुख भंसार नाका भएका कारण नेपालगञ्जमा आईसिपीलाई सुख्खा बन्दरगाहमा परिणत गर्नुपर्ने टड्कारो आवश्यक देखिएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाद्वारा पनि श्रम स्वीकृति दिन शुरु

१२ मंसिर २०८०, मंगलवार १३:२६
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले बैदेशिक रोजगारदाताहरुका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ पुगेको छ । जसले गर्दा बैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ । आफ्नै पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि लागत खर्च जोगिएको सेवाग्राही गणेश गिरीले बताए । […]