भेरी अस्पतालमा ‘म्याग्जिलो फेसियल’ सर्जरी सेवा शुरु

सदरलाइन संवाददाता २ असार २०८०, शनिबार १४:०९
 

नेपालगञ्ज : भेरी अस्पतालमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा शुरु भएको छ । अस्पतालमा ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.श्याम चौधरीको पदस्थापन भएसँगै भेरीमा बङ्गारा तथा अनुहारको शल्यक्रिया सेवा शुरु भएको हो ।

बासगढी नगरपालिका ६ बर्दियाका १४ वषीया बालिका र सानीभेरी गाउँपालिका १ रुकुम पश्चिमका २८ वर्षीया युवतिको शुक्रबार एकै पटक सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

१४ वर्षीया बालिकाको विगत ६ महिनादेखि चिउडो सुन्निएको र तलका ४ वटा दाँत हल्लिएको अवस्थामा भेरीको ओपीडीमा उपचारका लागि आएका थिए । त्यस्तैं रुकुम पश्चिमका २८ वर्षीया युवति घरको सिडिबाट चिप्लिएर मुखमा चोट लाग्दा हड्डी भाँचिएर मुख खोल्न र खाना चपाउन समेत नसक्ने अवस्था लिएर अस्पताल आएका थिए ।

दुवैजनाको शुक्रवार सफलतापूर्वक शल्यक्रिया भएको अस्पतालका ओरल एण्ड म्याग्जिलो फेसियल सर्जन डा.चौधरीले जानकारी दिए । डा.चौधरीको नेतृत्वमा भएको सर्जरीमा डा.निर्माण शाह, डा.प्रविन थापा, डा.नीशा पउन्जुसँगै एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्य, डा.पारश पाण्डे लगायत नर्सिङ स्टाफहरुको सहभागिता थियो ।

यसअघि यो सेवा भेरीमा उपलब्ध नहुँदा बिरामीहरु निजि अस्पतालमा महंगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।


‘पहिलो पटक भेरी अस्पतालमा म्याग्जिलो फेसियल सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाइँले भने–‘विशिष्टिकृत सेवा थप्दै गएका छौं । भेरीको सेवालाई हिंजो भन्दा आज, आज भन्दा भोलि राम्रो बनाउने हाम्रो प्रयास हो ।’
भेरी अस्पतालमा लामो समयदेखि म्याग्जिलो फेसियल सर्जरीको माग हुँदै आएपनि विज्ञ चिकित्सक नहुँदा यस प्रकारको शल्यक्रिया हुन सकेको थिएन । म्याग्जिलो फेसियल सर्जरीका लागि अस्पतालसँग सामान्य औजार उपकरण उपलब्ध छ । तर विशिष्टकृत उपकरणहरूको भने अस्पतालसँग अभाव छ ।

म्याग्जिलो फेसियल सर्जरीका लागि आवश्यक उपकरणहरु उपलब्ध भए जस्तो सुकै अप्रेशन पनि भेरीमै सम्भव हुने डा.चौधरीको भनाइ छ । सडक दुर्घटना, टाउकोका क्यान्सर आदिमा नाक, कान, घाँटी, ओरल एन्ड म्याक्जिलो फेसियल सर्जन र न्यूरोसर्जनहरूको संयुक्त टोली बनाएर समेत आ–आफ्नो क्षेत्रको अप्रेशन गर्नुपर्ने हुन्छ ।

भेरी अस्पतालमा हाल दुइ जना न्यूरोसर्जन, ४ जना ७ सर्जन र एक जना ओरल सर्जन उपलब्ध भैसकेकाले अब टाउँकोको अप्रेश्न, म्याग्जिलो फेसियल सर्जरी लगायत गर्न भारतका सहर वा काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.चापागाइँको भनाइ छ ।

बिरामीको बढ्दो चापका कारण भने ओटीको स्थान अभाव छ । सर्जनहरूले अपरेसनको ‘स्लट’ पाउन सकिरहेका छैनन् । डा.चापागाइँले बजेट अभावका कारण माग अनुसारका औजार उपकरण उपलब्ध गराएर सर्जनहरूको उत्साहमा उर्जा भर्न नसकिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माग सम्बोधन नहुँदासम्म विद्यालय बन्दको घोषणा

२ असार २०८०, शनिबार १४:०९
नेपालगञ्ज : तालाचाबी विद्यालयमा बुझाएर आन्दोलित नेपाल विद्यालय कर्मचारी परिषद्ले बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालसम्म बन्दको घोषणा गरेको छ । गत जेठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय बन्दको घोषणा गरिएको हो । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधालगायतका विषयलाई गत जेठ १५ गते […]