नेपालगञ्ज : नारायणहिटी दरबार हत्याकाण्ड भएको शुक्रबार २२ वर्ष पूरा भएको छ । तत्कालीन राज परिवारको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ ।
२०५८ जेठ १९ गते राती नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।