समुहमा आबद्ध कोहलपुरका महिलाहरु आयआर्जनतर्फ आकर्षित हुँदै

रुद्र सुवेदी १७ चैत्र २०७७, मंगलवार १३:४२
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले विभिन्न वडाका गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई आयआर्जनसंग जोड्ने उद्देश्यले समुहमा आबद्ध गाउदै व्यवसायिक बाख्रा पालनतर्फ आकर्षित गरेको छ । कोहलपुर नगरपालिकाका विभिन्न ९ वटा वडाका २० मूल समुह र ६० बहिनी समुह अर्थात उपाहार समूह निर्माण गरी करिव २ हजार विपन्न, दलिात तथा सिमान्तकृत महिलाहरु आत्मननिर्भर बनाउने उद्देश्यले बाख्रापालन, सुधारिएको खोर सहयोग, पशु विमा तथा पशुसुत्केरी भत्ता जस्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

समुहमा बसेर कोहलपुर नगरपालिकाद्वारा उपलब्ध गराईएको बाख्रा र व्यवसायिक तालिमले आफुहरुको आर्थिक अवस्था मात्र नभएर अत्मबल पनि बढेको बताउछिन कोहलपुर–१२ सुन्दरबस्ती सयपत्री बचत समूहका अध्यक्ष मिश्रीकुमारी शाही । उनले समुहमा बसेर मासिक बचत गर्ने र उठेको बचत समुहमै लगानी गर्ने बानी समेत बसालेको बताईन ।

उनी भन्छिन–‘पहिला आफुसंग भएको पैसा बचत गर्ने बानी थिएन तर अहिले भने समुहमा बसेपछि हाम्रा सबै आनीबानीमा परिवर्तन आएको छ ।’ उनले नगरपालिकाले दिएको बाख्रा ठूलो सहयोग नभए पनि व्यवसायिक हुनको लागि दिएको तालिम र बचत गर्ने बानीको बिकास गर्न सिकाएकोले आफुहरुमा परिवर्तन आएको दाबी गरिन ।

सोही समुहकी सदस्य हिरादेवी शाहीले हिजोका दिनमा समुहमा नबस्दा सय रुपैयाको लागि पनि श्रीमानको तलब आउने दिन गनेर बस्नुपर्ने बाध्यता र सरसापट लिदा पनि चर्को व्याज तिनुपर्ने अवस्था थियो तर अहिले भने त्यस्तो अवस्था नरहेको बताउदै उनले समुहमा बसेरसंगठित हुँदा बचत गर्न सिकाएको दाबी गरिन ।

पहिला बन जंगलबाट घाँस खोजेर बाख्रा, गाईभैसी पाल्दै आएको भए पनि कोहलपुर नगरपालिकाको बाख्रा सहयोगसंगै दिएको पशुधन व्यवस्थापन तालिमका कारण आफ्नै खेतबारीको आलीमा नै घाँसका विरुवा रोपेको र त्यसैबाट गुजारा चलाउदै आएको बताउछिन सुन्दरबस्ती कै सीता नेपाली । उनले नगरपालिकाले दिएको बाख्राबाट आम्दानी गरी डेढ लाखमा लैनो भैसिसमेत खरिद गरेको बताउदै नगरपालिकाले दिएको सहयोग सानो भएपनि बाख्रा तथा पशुपालनको तालिमले आफुहरुलाई व्यवसयिक बनाएको बताईन । उनले आफुले पालेका बाख्रा र भैसी दुबैको विमा गरेकी छन ।

कोहलपुर नगरपालिकाले हेफर मोडलमा सञ्चालनमा ल्याएको बाख्रा पैचो कार्यक्रमकी अर्की सहभागी नन्दकली टमटाले बाख्रा र खोर सहयोगमा पाएको बताईन । उनले यो संगै आफ्नै बारीमा घाँस उत्पादन गर्न सिकाएर सजिलो बनाएको बताईन । ‘पहिला घाँसको लागि बनजंगलमा भर पर्नु पर्दथ्यो तर अहिले अवस्था फेरीएको छ । घर आँगनमै घाँस रोपेका छौ बनजाने समय र दुख्ख दुबै हटेको छ’– उनले भनिन ।

कोहलपुर–१२ कै सुन्दर बचत समुहकी सचिव सिमा थापाले समुहमा आबद्ध भएको एक वर्षमा नै १ लाख ८ हजार बचत गरेको बताईन । उनले समुहमा बचत गरेर त्यो रकम समुह मै सस्तो दरमा लगानी गर्दा दोहोरो फाईदा हुने भएकोले आफुहरुका लागि राम्रो भएको दाबी गरिन ।

कोहलपुर नगरपालिकाबाट प्राप्त बाख्राबाट फाईदा लिनुको साथै घाँसको ब्याड समेत राखेर समुहको आम्दानी बढाउने तयारी गरेको जानकारी दिदै भनिन–‘ अहिले समुहमा बसेर किमु, सुपर नेपियर, बकाईनो जस्ता घाँसको व्याड तयार गर्नुको साथै बर्षिम घाँस सामुहिक रुपमा खेती गरेका छौ । पहिला यो ब्याड समुहमा उपयोग गर्नेछौ बचेको अर्को समुहलाई बिक्रिगरी फाईदा गर्नेछौ ।’

कोहलपुर नगरपालिका नगरकार्यपालिकाका सदस्य भिमबहादुर नेपालीले कोहलपुर नगरपालिकाले विपन्न महिलाको आयआर्जन बृद्धि गर्ने उदेश्यले हेफरसंगको सहकार्यमा साना किसान सुदृढिकरण परियोजना सञ्चालन गरिएको बताए । उनले यो कार्यक्रम विकासको अर्को मोडल हुनसक्ने दाबी गरे । ‘साना किसान प्रत्यक्ष रुपमा लाभग्राही हुने भएकोले पनि यसले गृहणी महिलालाई आत्मनिर्भर र बलियो बनाउने विश्वासले समुहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको हो’–उनले भने ।


कोहलपुर नगरपालिका कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक दिलबहादुर परियारले विपन्न महिलाको आर्थिक अवस्था उकास्नको लागि कोहलपुर नगरपालिकाको ७५ प्रतिशत र हेफरको २५ प्रतिशत लगानीमा साना किसान उद्यमी सुदृढिकरण परियोजना सञ्चालन गरिएको बताउदै उनीहरुको आर्थिक अवस्था उकास्ने लक्ष रहेको बताए । साना र विपन्न किसानले प्रत्यक्ष लाभ लिने गरी परियोजना सञ्चालनमा ल्याईएको उनको भनाई छ ।

हेफरको तर्फबाट स्थानीय स्तरमा सहजिकरण गर्दै आएको महिला उपकार मन्च कोहलपुरमा साना किसान उद्यमी सुदृढिकरण परियोजना संयोजक चन्द्रकला न्यौपानेले पहिला परम्परागत रुपमा खेती तथा पशुपालन कार्यमा संलग्न रहेका विपन्न महिलालाई बचत गर्न सिकाई सहकारीसम्म पुराउनुको साथै व्यवसायिक रुपमा विकास गर्न अभिप्रेरित गरिएको बताईन ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बिपन्न तथा आर्थीक रुपले पछाडी परेका र समुहमा आबद्ध रहेका गृहणी महिलाको आर्थिक अवस्था उकास्न नगरपालिकाले उनीहरुलाई बाख्रा पैचो कार्यक्रम मार्फत बाख्रा बितरण गरीएको बताए । उनले प्राप्त गरेको बाख्राबाट आम्दानी गरी महत्वपुर्ण काममा लगानी गरेर आर्थीक स्थिति उकास्न सकिने दाबी गरे ।

कोहलपुर नगरपालिकाले हेफर मोडलमा महिला उपकार मञ्चसंगको समन्वयमा बाख्रा पैचो कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडानं. १, २, ३, ७, ८, १०, १२, १३, १४ का २ हजार गृहणी महिलालाई विभिन्न ८० वटा समूह निर्माण बाख्रा पैचो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

यसरी प्राप्त गरेका बाख्राबाट उत्पादन भएको पहिलो पाठी १८ महिना पछि अर्को समुहलाई उपाहार दिनुपर्ने छ । कोहलपुर नगरपालिकाले यसवर्ष १ सय ५० वटा बाख्रा र १० वटा बोका र गत वर्ष सोही कार्यक्रम अन्तरगत १ सय ६५ बाख्रा र ३० बोका बितरण गरेकोे छ ।

यसैगरी १ सय ३८ जना किसानलाई उन्नत खोर निर्माणमा सहयोग गरेको छ । कोहलपुर नगरपालिकाले गत वर्ष ५५ लाख र यसवर्ष ६० लाख रकम खर्चेको छ । कोहलपुरको पिपरीमा कोहपुर नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा बोयरजातको बाख्राको स्रोत केन्द्र स्थापना गर्ने तयारी भएको छ ।

 

Next Post

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु l

१७ चैत्र २०७७, मंगलवार १३:४२
नेपालगन्ज : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्य को मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिक नदीमा पौडी खेल्नेक्रममा […]