भेरी अस्पतालमा ३० शय्याको इमरजेन्सी वार्ड

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १३:४२
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले हाल पुरानो भवनबाट सेवा प्रवाहमा कठिनाइ भएकाले नयाँ भवन हस्तान्तरण नभए पनि स्तरोन्नतिसहित इमरजेन्सी वार्ड सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

डा. चापागाईँले भने, ‘‘जेठ १५ भित्र नयाँ भवनबाट इमरजेन्सी वार्ड पूर्णरुपमा सञ्चालन गर्ने तयारी छ, अब सञ्चालन गरिँदा पूर्णरुपमा सुविधा सम्पन्न शय्याको व्यवस्था गरिएका छन् ।’’

इमरजेन्सी कक्ष हाल १६ शय्याको रहेकोमा ३० शय्याको हुनेछ । इमरजेन्सी वार्डमा रातो, हरियो र पहेँलो गरी बिरामीको अवस्था अनुसार शय्या र स्थान निर्धारण गरिएको छ । निर्माण कम्पनीले निर्माण सम्पन्न गर्नका लागि पटक–पटक ताकेता गर्दा पनि ढिलाइ भइरहेपछि निर्माण सम्पन्न नहुँदै भवन आंशिक रूपमा प्रयोगमा ल्याउन लागिएको हो ।

भेरी अस्पतालमा १५० शय्याको स्वीकृति भएपनि पुरानो भवनबाट १६२ शय्यामा बिरामीको उपचार भइरहेको छ ।


भेरी अस्पतालमा निर्माण भइरहेको ओपिडी भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि भेरी अस्पतालको पनि स्तरोन्नति भई करिब पाँच सय शय्याको हुने छ ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले असारभित्र निर्माण कम्पनीले काम सम्पन्न गरी हस्तान्तरण हुने बताए ।

फागुन १५ सम्म निर्माण सम्पन्न गर्नु पर्नेमा काम सम्पन्न नभएपछि निर्माण कम्पनी प्रेरा–सिएबी–भीमेश्वर जेभीलाई असारसम्मका लागि म्याद थप गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यापार नहुँदा वीरेन्द्रनगरका व्यावसायिक सटरहरु खाली हुँदै

११ जेष्ठ २०८०, बिहीबार १३:४२
सुर्खेत : आर्थिक मन्दिका कारण व्यापार–व्यवसाय सञ्चालन हुन नसक्दा सुर्खेतका व्यवसायिक सटरहरु धमाधम खाली हुन थालेका छन् । पछिल्लो समय देशमा जारी आर्थिक संकटको प्रभाव सुर्खेत सहित प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि पर्न थालेको छ । कोरोना भाईरस संक्रमण अवस्था पछि थला परेको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव अहिले वीरेन्द्रनगरमा पनि देखा पर्न […]