सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नं. प्रदेस सरकारको स्वास्थ्य निर्देशनालयले प्रदेसका ४ वटा कारागारको कैदी, बन्दी, थुनुवाहरुमा एचआईभि÷एड्स परिक्षण तथा व्यवहार परिवर्तन सम्बन्धित कार्यक्रम सञ्चालन गर्नेे भएको छ ।
बाँके, रुपन्देही, पाल्पा र कपिलबस्तुमा सञ्चालनमा ल्याईने कार्यक्रमको बारेमा बुधबार बाँकेको नेपालगन्जमा सरोकारवला निकायबीच समन्वयकारी बैठकको आयोजना गरियो ।
सो कार्यक्रमलाई प्रदेस स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश कुमार चापागाईले कारागारमा रहेका कैदी बन्दी र थुनुवाको स्वास्थ्य प्रति संवेदनशिल हुँदै एचआईभी एड्स परिक्षण तथा व्यवहार परिवर्तन सम्बन्धित कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले यसै कार्यक्रम संगै टिबि, मधुमेह, छाला र मानसिक लगायतको जाँच गरिने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले प्रदेश स्वास्थ्य निर्देशनालयबाट एचआईभिको टेस्ट मात्र रहेकोमा सरोकारवालाको साथमा समन्वय बैठक गरी टिबि, छाला, मधुमेह र मानसिक लगायतको चेक जाँचको सेवा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, भेरी अस्पतालका डर्माटोलिष्ट डा बद्री चापागाई, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी लगायतको सहभागिता रहेको थियो ।