दाङ : दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम बालात्कार मुद्दा परेपछि पक्राउ परेका छन् ।
एक जना २२ बर्षीया छात्राले गौतमले आफुलाई जागिरको प्रलोभनमा घरमा बोलाएर आइतबार दिउँसो बलात्कार गरेको किटानी जाहेरी दिएपछि क्याम्पसका पूर्व प्रमुखसमेत रहेका गौतमलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।
पीडितको उजुरीको आधारमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष्समेत रहेका गौतमलाई लमही नगरपालिका वडा नं. ५ रातोडाँडास्थित निवासबाट पक्राउ गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार गौतमका अनुसार प्रहरी हिरासतमा रहँदै आएका उपप्राध्यापक गौतमलाई सोमबार म्याद थपिएको छ । म्याद थप पछि बलात्कार मुद्दा चलाएर घटना अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।
इटहरी घर भइ देउखुरीकै एक टेक्निकल कलेजमा अध्यनरत पीडित छात्राको आइतबार नै स्वास्थ्य चेकजाँच भइ सकेको प्रहरीले जानकारी दिएको छ ।
गौतमको घर नजिकै कोठा भाडामा बस्दै आएकी पीडित छात्रा देउखुरीको एक टेक्निकल कलेजमा अध्यनरत छिन् । उक्त दिन उपप्राध्यापक गौतमले श्रीमतिलाई भनेर उनलाई जागिर दिलाउन भूमिका खेल्ने भन्दै घरमै बोलाएको कुरा पीडितले गरेकी प्रहरी अधिकारीले जानकारी दिए ।