बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ ।
बैजनाथ गाउँपालिकामा मात्र १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको छ । गाउँपालिकाले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सही सङ्ख्या पत्ता लगाउन गरेको लगत सङ्कलनबाट उक्त सङ्ख्या पत्ता लागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले भूमि आयोग बाँकेको समन्वयमा पालिकाभरिको लगत सङ्कलन गर्दा १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको जानकारी गराएका हुन् ।
गाउँपालिकाले विभिन्न चरणमा गाउँपालिकाका आठ वटै वडामा लगत सङ्कलन गरिएको जनाउँदै सो कार्यका लागि भूमि आयोग, गाउँपालिकाका प्राविधिक तथा नापीका कर्मचारीलाई परिचालन गरिएको उल्लेख गरेका छन् ।
गाउँपालिकाका अनुसार सङ्कलन गरिएको लगतमा देखिएका १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये भूमिहीन सुकुम्वासी एक हजार ६३९, भूमिहीन दलित ९३५ जना र अन्य अव्यवस्थित बसोबासी सात हजार ७६५ जना छन् ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले अझै पनि कोही छुटेका छन् भने उनीहरूलाई फेरि पनि समावेश गराउने योजना गाउँपालिकाको रहेको बताएका छन् ।
उनले लालपुर्जा वितरणका लागि स्थानीय सरकारका तर्फबाट नापी र मालपोतका काम अगाडि बढाइएको पनि उल्लेख गरेका छन् । अध्यक्ष शाहीले भने, “सही र वास्तविक भूमिहीन तथा सुकुम्वासी पहिचान गरेर उनीहरूलाई छिट्टै लालपुर्जा वितरणको तयारीमा जुटेका छौँ। यसमा सबैको सहयोग आवश्यक छ ।”
उनले समस्या सधैँका लागि समाधान गर्ने सोचका साथ भूमि आयोगसँग समन्वय गरेर काम गरिरहेको बताएका छन् ।