भत्किएको लामो समयसम्म नबनेपछि सांसदनै बसे पुलमुनि अनशन

सदरलाइन संवाददाता ३१ बैशाख २०८०, आईतवार १३:१८
 

नेपालगञ्ज : बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्कियो । पप्पु कन्ट्रक्शनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन् ।

अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ । साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ । मोटरसाइकलमा एक जनाको २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ। अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ ।

बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जानका लागि गाडीको बाटो छैन । जयनगर–गुलरियाको १३ किलोमिटर दूरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानुपर्छ ।

जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो । यही जब्दीघाट पुलमुनि नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले शनिबार बेलुकादेखि आमरण अनसन थालेका छन् । बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जय गएको चुनावमा यही क्षेत्रबाट निर्वाचित भए ।


चुनावको बेलामा गौतमले एक महिनाभित्र जब्दीघाटमा वैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । उनले बेलिब्रिजको कुरा गरेका थिए । अहिलेसम्म यो पूरा भएन । गौतमले सदनमा जब्दीघाट पुलको कुरा उठाएका पनि हुन्, जसको सुनुवाइ भएन ।

सांसद गौतमले सदन र सडकबाट माग उठाए पनि पूरा नभएपछि बाध्य भएर आमरण अनसनमा बसेको बताएका छन् । गौतमले विभिन्न १५ बुँदे माग अघि सारेका छन् । त्यसको एक नम्बर बुँदामा जब्दीघाट पुलकै कुरा छ, जहाँ उनी अनसन बसिरहेका छन् ।

गौतमले तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल–बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारेका छन् ।

एकथरीले भने चुनावका बेलामा आफैंले गरेको वाचा पूरा नभएपछि गौतमले अनसनको नाटक गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगर पञ्चायत रुपईडिहाको अध्यक्षमा बैश्य निर्वाचित

३१ बैशाख २०८०, आईतवार १३:१८
नेपालगञ्ज : बहाराईच जिल्ला अन्तर्गत रहेको नगर पञ्चायत रुपईडिहाको अध्यक्षमा भारतीय जनता पार्टीका उम्मेदवार डा.उमाशंकर बैश्य निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाका बीच नगर पञ्चायतको निर्वाचनमा पुर्व ग्राम प्रधान मोहम्मद जुबेर फारुकीलाई १५६ मतान्तरले पराजित गर्दै अध्यक्षमा बैश्य निर्वाचित भएका हुन् । डा.बैश्यले ४६५२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी […]