नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको छ । जन्म दर्ता सम्बन्धि अभिमुखीकरणपछि वडा वडामा जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको हो । अनुगमनका क्रममा पछिल्लो समय जन्म दर्ता गराउनेको संख्या बढेको पाइएको छ ।
पहिलो चरणमा वडा नम्बर १४, १५, १६ र २३ मा गरिएको अनुमगनका क्रममा वडाका जनप्रतिनिधि एवम् सम्बद्ध अधिकारीहरुले जन्म दर्ता गराउनेहरु बढेको बताएका हुन् । अभिभावक, धर्मगुरु एवम् सामाजिक अभियन्ताहरुबाट जन्म दर्ता गर्ने कार्यमा सहयोग भइरहेको वडा नम्बर २३ का वडा जब्बर अलि बेहनाले बताए ।
वडा नम्बर १४ का वडा अध्यक्ष मजहर अलि साईले बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउनुपर्दछ भन्ने चेतना अभिभावकहरुमा विकास भएको बताए । जन्म दर्ताबारे समाजमा सचेतना बढेका कारण जन्म दर्ता गराउनेहरु बढ्न थालेको वडा नम्बर १५ का सहायक पाँचौं शोभाकर भण्डारीले बताए ।
२३ वटै वडामा जन्म दर्ता गर्ने प्रबृत्तिमा सुधार भए नभएको अवस्थाबारे तीन चरणमा अनुगमन गरिने महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । पुरीले अनुगमनका क्रममा जन्म दर्ता गर्नेहरु बढेको पाइएको बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडालाई जन्म दर्ता सम्बन्धि अभिमुखीकरण गरिसकेपछि त्यसयता भएको सुधारबारे अनुगमन थालिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताइन् ।