बैंकले ऋण प्रवाह नगर्दा सटर खाली गर्दै नेपालगञ्जका व्यापारी

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १५:३३
 

नेपालगञ्ज : नेपालगञ्जका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेका छन् । पहिलाको तुलनामा बजारमा रौनक घटेपछि सटर खाली हुन थालेका हुन् ।

बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकिएको र व्यापार अहिले ह्वात्तै घटेकाले सटर बन्द र बिक्रीको सूचना टाँस्नु परेको व्यवसायीले बताएका छन् । घरभाडा निरन्तर तिर्नु परिरहेको र बैंकले ब्याज ताकेता गरिरहेकाले पनि समस्या भएको केहीको भनाइ छ । आम्दानी शून्य भएपछि पसल बेच्नुको विकल्प नरहेको नेपालगन्जका विनोद बुढाथोकीले बताए । ‘भाडा पनि उठाउन गाह्रो भएपछि कपडासँगै पसल नै बेचें,’ उनले भने, ‘तर, यो संकटमा पसल किन्ने ग्राहक पाउन पनि सजिलो छैन ।’

चलनचल्तीको भन्दा निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेन्ट बिक्री गर्न खोज्दा पनि ग्राहक भेट्टाउन कठिन छ । ‘दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन,’ होटल व्यवसायी रामु सेन्चुरीले भने, ‘अहिले पसल किन्ने ग्राहक भेट्टाउनु पनि ठूलो चमत्कारै हो जस्तो लाग्न थालेको छ ।’

व्यवसायी धमाधम पलायन हुने अवस्थामा पुग्दा पनि सरकारी ध्यान व्यवसायीलाई सहयोग पुग्ने किसिमको नहुनु दुःखद भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए । ‘साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा पसल सञ्चालकहरू पलायनको पीडामा पुगेका छन् ।’


गोदाम र पसलमा लाखौंका सामान स्टक छन् तर कारोबार ओरालो झर्ने क्रम नरोकिएको घरबारी टोलका एक जना कपडाका ‘होलसेलर’ले गुनासो गरे । ‘अहिले त राम्रोसँग निदाउन पनि सक्दिनँ,’ उनले भने, ‘तनाव नै तनाव छ ।’ कोभिड–१९ र त्यसपछि उब्जिएको आर्थिक संकटले नेपालगन्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

‘कारोबार र कतैबाट पनि आर्थिक सहयोग नभएपछि अहिले पसल बिक्री गर्ने बढेका छन् । तर, के गर्नु किन्ने कोही छैनन्,’ अध्यक्ष मन्सुरीले भने, ‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन् । व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्नेहरू धेरै भए ।’

संघका महासचिव चिरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताए । ‘जसका कारण नयाँ लगानीकर्ता बजारमा आउन सकेका छैनन् भने भएकै पनि विस्थापित भइरहेका छन्,’ उनले भने, ‘नेपालगन्जको बजार पहिल्यैदेखि नै भारतीय बजारबाट धेरै प्रभावित छ ।

यस्तो बेला व्यवसायीले झेल्नुपरेको आर्थिक संकट झन् थामिनसक्नु भयो ।’ व्यापारीलाई छुट दिएर सहजीकरण गरिदिन विभिन्न निकायमा अनुरोध गरिरहेको उद्योग वाणिज्य महासंघ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । ‘अहिले नयाँ व्यवसायी आउने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सटर खाली गर्नुभन्दा भाडामा छुट दिएर भएका व्यवसायीलाई टिकाउनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कृत्रिम आगलागी तथा उद्धार अभ्यास सम्पन्न

२८ चैत्र २०७९, मंगलवार १५:३३
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ रामलिला मैदानमा काल्पनिक आगलागी तथा उद्धार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ । जिल्ला बिपद् ब्यवस्थापन समिति बाँकेले आयोजना गरेको उक्त अभ्यासमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटि बाँकेका […]