झोले चिकित्सकले उपचार गर्दा दुईको मृत्यु

१० मंसिर २०७६, मंगलवार १६:४१
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमवार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो ।
नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचारका लागि आएका ‘झोले चिकित्सक’ राजेश सिंहले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीको अनुमान छ ।
कीरब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए । हिजो मृत्यु भएका गयाराज र मालिकरामको शव परीक्षणपछि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ मंगलवार नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडितसँग भेटघाट गरेका छन् । नरैनापुर क्षेत्रमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिइएको उनले बताए ।

Next Post

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, स्वास्थ्य अवस्था स्थिर

१० मंसिर २०७६, मंगलवार १६:४१
सदरलाइनडटकम, काठमाण्डौ : एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमवार रातिदेखि पेट दुखेपछि मंगलवार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मंगबार मध्याहन्न एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । प्राध्यापक डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा […]