नेपालगञ्ज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्ने रहेको बताएका छन । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई शनिबार दिउसो नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले भने–‘ पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने छ । त्यसैले नतिजा देखिने गरी काम गर्न आवश्यक छ ।’ अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताउदै महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताए ।
उनले गत चुनावमा बनेको गठबन्धन भत्केर पनि पुनः निर्माणका साथमा आएको उल्लेख गर्दै यसलाई पुरै कार्यकाल संसद चल्ने गरी गठबन्धनलाई मजबुद बनाउन पर्नेमा जोड दिए ।


महामन्त्री थापाले २०८४ मा हुने निर्वाचनमा अब कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने धारणा राखे । निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनौट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उनले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटालगायत, जिल्लाका पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा सभापति गौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान समेत गरिएको छ ।