नेपालगञ्ज : बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद शुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ ।
धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए ।
उनले यस वर्ष जिल्लाका ८४० जना किसानबाट मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल गरेर २५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा धेरै कम नौ हजार क्विन्टल मात्र धान खरिद भएको बताए ।
३४० जना किसानबाट मध्यम धान सात हजार क्विन्टल र मोटो धान दुई हजार क्विन्टल गरेर नौ हजार क्विन्टल धान खरिद गरिएको हो । जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर गत पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद शुरु गरिएको थियो ।
तर निर्धारित समयभन्दा निकै ढिला गरी धान खरिद सुरु गरेकाले अधिकांश किसानले बाध्य भएर पहिले नै व्यापारीलाई बिक्री गरिसकेकाले नै कम्पनीमा नगएको बाँके खजुरा–४ का किसान जयन्त थापाले बताए ।
कार्यालयले ढिला गरी खरिद सुरु गरेको र पछिल्लो समय व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेकाले किसानले कम्पनीलाई धान बिक्री नगरेको बताए । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार १२८ रुपियाँ तोकेको थियो ।
बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटा अनुसार धान बिक्री गरेको र अन्य छवटा पालिकाबाट निकै कम सङ्ख्यामा किसान धान बिक्री गर्न आएको जनाइएको छ ।