प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार

सदरलाइन संवाददाता २१ फाल्गुन २०७९, आईतवार १२:२१
 

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो ।

सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या सात सयसम्म थियो भने अहिले दैनिक एक हजार चारसम्म रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार प्रादेशिक अस्पतालको विशेषज्ञ सेवा थपिँदै जान थालेपछि सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

अस्पतालले अब निकट भविष्यमै एमबीए, एनआईसीयू, सर्पदंश र अरू सेवा थप गर्ने योजना राखेको छ । एक वर्षमै आईसीयू शय्यालाई छबाट बढाएर ३० मा पु–याएको छ भने मुटु रोगीका लागि १० शय्याको छुट्टै वार्ड सञ्चालन गर्न लागेको जनाएको छ ।

डा. ढकालले एक वर्षको बीचमै मेडिकल वार्ड १९ शय्याबाट ४५ पुगेको, इमर्जेन्सी २२ बाट ३५ बेडमा पुग्नुका साथै ट्रमा रुमसमेत तयार भएको बताए । डायलासिस सेवा पाँच शय्याबाट १९ मा पुगेको छ ।

अस्पतालले पाँच शय्याको जलन वार्डसमेत सञ्चालनमा ल्याएको छ । गत वर्षमात्रै अस्पतालमै प्लास्टिक सर्जरी सेवा सुरु गरेको मेडिकल सुपरिन्टेन्डेन्ट ढकालले बताए ।


उनले अस्पतालले क्याथ ल्याबको संरचना तयार गरी अब छिटै सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिए । अस्पतालले प्रदेश सरकारको सहयोगमा सिकलसेल र वंशाणुगत रोगको उपचार निःशुल्क गर्दै आएको छ । बहिरङ्ग सेवाको टिकट र बेडसमेत निःशुल्क गरेको छ ।

१९६७ सालमा स्थापना भएको यो अस्पताललाई लुम्बिनी प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा १० तले सुविधा सम्पन्न अस्पताल भवन बनाउने योजना राखेको छ ।

अस्पतालले हालै प्रसूति तथा बालरोगको सेवा नयाँ भवनबाट सुरु गरेको छ । विगतमा भन्दा गुणस्तरीय सेवा दिन थाले पनि शौचालय भने दुर्गन्धित र फोहोरले भरिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलले केही दिनअघि गरेको स्थलगत निरीक्षणमा अस्पतालको शौचालयमा पस्नै नसकिने, फोहोर र दुर्गन्धित भएको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको थियो । त्यसपछि अस्पतालले अहिले शौचालयको सफाइमा समेत ध्यान दिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हत्या आरोपी २० वर्षपछि पक्राउ

२१ फाल्गुन २०७९, आईतवार १२:२१
नेपालगञ्ज : २० वर्षदेखि फरार रहेका हत्या आरोपीलाई नरैनापुर प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं. ९ हाल डुडुवा गाउँपालिका– १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा फागुन १९ गते इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी खडैचा बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके […]